काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई दुई वटा सुझाव दिनुभएको छ ।
‘गिरिजाप्रसाद कोइराला स्मृति (सामुदायिक) कलेज’को तेस्रो स्थापना दिवसका अवसरमा शनिबार चाबहिलस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा उहाँले सरकारको नेतृत्व लिन र संविधान कार्यान्वयनमा भुमिका खेल्न सुझाव दिनुभएको हो ।
उहाँले भन्नुभयो– ‘पार्टीले सरकारको नेतृत्व गर्दै सबै जाति, क्षेत्र र वर्गका जनतालाई समेटी संविधान कार्यान्वयनमा अग्रसरता लिनुपर्छ । त्यसका लागि सभापतिबाट विशेष पहल होस् ।’
कार्यक्रममा केन्द्रीय सदस्य सुजाता कोइरालाले भने सभापति देउवालाई संर्घषबाट प्राप्त उपलब्धि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खोस्न नदिन सचेत गराउनुभयो ।
हिन्दू राज्यको वकालत गरिरहेका नेता खुमबहादुर खड्कातर्फ संकेत गर्दै उहाँले भन्नुभयो- ‘पार्टीभित्रैबाट प्राप्त उपलब्धिविरुद्ध उत्रने कार्य भइराखेको छ । त्यसतर्फ सचेत भएर सभापतिलाई सुझाव दिन्छु ।’
कार्यक्रममा बोल्नुभएका देउवाले संविधान कार्यान्वयन र प्राप्त उपलब्धि संस्थागत गर्ने आफ्नो एजेण्डा भएको बताउनुभयो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...