काठमाडौं, २२ फागुन । नेपाली मुलकी अमेरिकी नागरिक मृदुला कोइरालाले नेपाली कांग्रेसको १३औँ महाधिवेशन केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको रहस्य खुलेको छ ।
मृदुलाले महिलातर्फको खुला केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएकी हुन् । मोरङ जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएकी मृदुलासँग अमेरिकाको स्थायी बसोबास अनुमति (पीआर) रहेको छ ।
मृदुलाका पति र छोराछोरी सबै अमेरिकामा बस्छन् । उनी कांग्रेसको राजनीति गर्न कहिले नेपाल, कहिले अमेरिका बस्दै आएकी छिन् ।
सुशील कोइराला सभापति र प्रधानमन्त्री भएका बेला नेपाल आएकी मृदुलाले कांग्रेसमा त्यस बेलादेखि आफ्नो दब्दबा राख्न सुरु गरेकी हुन् । सुशील कोइरालासँग नेता तथा कार्यकर्ताहरुसँग भेट गर्न नदिएको भन्दै मृदुलाको आलोचना हुने गरेको थियो ।
सुशील कोइरालाको निधनका विषयमा पनि मृदुलाको भूमिकाप्रति कांग्रेसी कार्यकर्ताहरुले प्रश्न उठाएका थिए । सुशील कोइरालाको निजी सहयोगीहरुलाई खटनपटन गर्दै आएकी मृदुलाले बिरामी भएको खबर बाहिर आउन नदिएको आरोप छ ।
नेपाली कांग्रेसको राजनीति गरेका मुलुकभित्रका कांग्रेसी महिलाहरुका लागि छुट्याइएको महिला आरक्षणमा मृदुलाले उम्मेदवारी दिएर पैसा खर्च गर्न सुरु गरेपछि सबै चकित परेका छन् । मृदुलाले केन्द्रीय सदस्यमा जित्नका लागि उल्लेख्य पैसा खर्च गरेको एक जना महाधिवेशन प्रतिनिधिले जानकारी दिए ।
नेपाल सरकारले आफ्ना कर्मचारीहरुलाई ग्रिनकार्ड र पीआर लिएर सरकारी कार्यालयमा जागिर खान रोक लगाएको छ । तर राजनीतिक दलहरुले भने त्यसलाई पछ्याएका छैनन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...