काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको सभापति पदको निर्वाचतमा तेस्रो भएका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना शुभेच्छुक र महाधिवेशन प्रतिनिधिहरूलाई धन्यावाद दिएका छन् ।
नेता सिटौलाले आज आफू निकटका नेताहरूसँगको गोप्य छलफलपछि सभापति पदको निर्वाचनमा मतदान गर्ने शुभेच्छुक र मतदाताहरूलाई धन्यावाद दिँदै अबको मतदानमा विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् ।
‘आइतवार सम्पन्न मतदानमा सहभागी भई हामीलाई सहृदयपूर्वक मतदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू तथा हामीप्रति शुभेच्छा प्रकट गर्नुहुने र सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु’, सिटौलाले विज्ञप्तिमा भनेका छन्, ‘आइतवारको मतदानबाट सभापति पदमा कसैको पनि निर्वाचित हुनको लागि आवश्यक मत प्राप्त हुन सकेन । महाधिवेशनबाट नेतृत्व छनौट गरेर फर्कदै गर्दा कुनै पनि गुटमा विभाजित भएको कांग्रेस होइन, एकतावद्ध भएको कांग्रेस भएको सन्देश लिएर जानुपर्छ ।’
सिटौलाले अगाडि भनेका छन्, ‘महाधिवेशनमा सहभागी प्रतिनिधि र सम्पूर्ण कांग्रेसजनको यहि चाहना हो । त्यो एकताबद्ध कांग्रेसले मात्रै आज हाम्रासामु देखिएका चुनौतिको एकमुष्ट सामना गर्न सक्छ ।’
‘आज दोस्रो चरणको मतदान गर्ने प्रक्रियामा प्रवेश गर्दैछौ । यो अवस्थामा यदि दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै हिजो व्यक्त मतको समेत सम्मान गर्दै पार्टीभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने मेरो विश्वास छ’, नेता सिटौलाले विज्ञप्तिमा भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘पार्टीलाई गुटउपगुटमा विभाजित हुनबाट मुक्त गरि एकताबद्ध बनाउन आफ्नो तर्फबाट पहल कदमी लिने प्रतिवद्धता जनाउँदै अन्य साथीहरुलाई पनि पार्टीको वृहत्तर एकताका निम्ति अग्रसर हुन आह्वान गर्दछु ।’
यसअघि नेता सिटौलाले आजै बिहान आफ्नै निवास धुम्बाराहीमा वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग अलग अलग भेटवार्ता गरेका थिए । देउवा र पौडेलसँगको भेटपछि गगन थापा र उमाकान्त चौधरी तथा काभ्रेका पूर्व सभापति शिव हुमागाइँसहितका नेताहरूसँग भेट गरेका सिटौलाले यस्तो विज्ञप्ति जारी गरेका हुन्

0 comments
प्रतिक्रिया दिनुहोस्...