नेपाल कोकिन तस्करको ट्रान्जिट बन्दै
१५ चैत, काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले सोमबार पाँचवटा स्याम्पुको बट्टासँगै दुई विदेशी महिलालाई सार्वजनिक गरेको छ । उनीहरूबाट बरामद भएका ती बट्टा चानचुने थिए ।
तर, त्यसभित्र अवैध लागुऔषध दुई किलो कोकिन थियो । जसलाई नेपालको हुँदै अन्य देश लैजाने क्रममा बरामद गरिएको थियो । जसको अवैध मूल्य पाँच करोड ४० लाख रुपैयाँ पर्ने प्रहरीको भनाइ छ ।
यसरी पक्राउ परे
११ चैतमा दुबईको एफजेड-७५३ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । सबै यात्रुप्रति लागुऔषध नियन्त्रण ब्युरोले निगरानी बढाइरहेको थियो । त्यतिकै एक अफ्रिकन मूलकी महिला प्रहरीको निगरानीमा परिन् । उनी थिइन्, दक्षिण अफ्रिकाकी एमपाथोनी एमसानी ।
एमसानी त्रिभुवन विमानस्थलबाट आफ्नो लगेज बोकेर सरासर बाहिर निस्किन्, ब्युरो टोली पनि उनको पछि लाग्यो । प्रहरीले तत्काल उनीमाथि कुनै प्रतिक्रिया जनाएन । एमसानी ठमेलस्थित एक होटलमा पुगिन्, त्यहाँ पनि प्रहरीले केही गरेन, मात्रै निगरानीमा राखेको थियो ।
सोमबार बिहान करिब साढे ८ बजे एमसानीलाई भेट्न अर्की एक महिला आइन्, भारत नागाल्यान्डकी मिर्सी । दुवैले क्षेत्रपाटीमा केही सामान लेनदेन गर्दै थिए, त्यही बेला दुवै प्रहरीको फन्दामा परे ।
प्रहरीले ३७ वर्षीया एमसानीको साथबाट तीनवटा स्याम्पुको बट्टा बरामद गर्यो, जसमा एक किलोभन्दा बढी झोल कोकिन थियो । उनले भारतीय महिला मिर्सीलाई दिएको अर्को दुई बट्टा पनि बरामद गर्यो, जसमा लगभग एक किलो उही झोल कोकिन थियो ।
दक्षिण अफ्रिकादेखि नेपालसम्म
ब्युरोको प्रारम्भिक अनुसन्धानमा एमसानी गत १ चैतमा दक्षिण अफ्रिकाको जोहान्सबर्गबाट दुबई हुँदै २ चैतमा बाज्रिल पुगेको खुलेको छ ।
बाज्रिलमा उनलाई केही अफ्रिकन मूलकै व्यक्तिले कोकिनले भरिएका स्याम्पुको बट्टा बोकाएर फेरि दुबई पठाए । केही दिन दुबई बसेपछि एमसानी ११ चैतमा काठमाडौं आइपुगेकी थिइन्, कोकिन बोकेर ।
अविवाहित एमसानीको १४ वर्षीय छोरा र १२ वर्षीया छोरी समेत रहेको खुलेको छ ।
उनले ब्राजिलबाट दिल्ली हुँदै फिलिपिन्ससम्म कोकिन पुर्याइसकेको अनुसन्धानका क्रममा खुलेको ब्युरोका डीआईजी जयबहादुर चन्दले बताए ।
भारतबाट छोरीसहित कोकिन बोक्न काठमाडौं आइपुगेकी मिर्सी भने कुन रुटबाट नेपाल प्रवेश गरिन् भन्ने खुल्न सकेको छैन । ‘एमसानीले ब्राजिलबाट नेपालसम्म ल्याउने र नेपालबाट भारतसम्म लैजाने काम मिर्सीको भएको देखिन्छ । तर, उनीहरूलाई भारतबाट पठाउने र ब्राजिलबाट पठाउने समूह को हुन् भन्ने खुल्न सकेको छैन,’ डीआईजी चन्दले भन्छन्, ‘नेपालमा पहिलोपटक झोल बनाएर ल्याइएको कोकिन बरामद भएको छ, यसको अन्य कनेक्सन के छ हामी खोजिरहेका छौं ।’
नेपाल कोकिनको ट्रान्जिट
२८ मार्च २०१५ मा मलेसियन महिला मरिना विन्त जमालुद्दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिइन् । विमानस्थलबाट सीधै लाजिम्पाटस्थित एक अपार्टमेन्टमा पुगिन् । जहाँ उनका लागि कोठा मलेसियाबाटै बुक भइसकेको थियो । बाज्रिलबाट कतारको दोहा हुँदै नेपाल आइपुगेकी मरिनाले करिब चार दिन अपार्टमेन्टमा बिताइन् ।
२ अपि्रलमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै इटालीको रोमतिर जाँदै थिइन्, विमानस्थलमा पक्राउ परिन् । ती मलेसियन महिला पाँचवटा ल्यापटपको झोलामा राखिएको ११ किलो कोकिनसहित पक्राउ परेकी थिइन् । चारपटक ब्राजिलबाट भारतको रुट हुँदै कोकिन ओसारिसकेकी मरिना नेपालबाट भने उम्किन सकिनन् । उनले उक्त कोकिन इटाली लैजान लागेकी थिइन् ।
६ फागुन ०७० मा दुबईबाट नेपाल आएका नामेबियन नागरिक २ किलो कोकिनसहित पक्राउ परे । विमानस्थलका सुरक्षाकर्मीले एफजेड ५७५ विमानबाट आएका यात्रुको चेकजाँच गरिरहेको थियो । २ किलो कोकिन बोकेर नेपाल ओर्लिएका नामेबियन नागरिक रेहेमन जुंगु ओपिल विमानस्थलबाट बाहिरिएलगत्तै प्रहरीको फन्दामा परे ।
प्रहरीले रेहेमनको ब्यागबाट ४५ क्याप्सुल र पेटबाट थप ११२ क्याप्सुल कोकिन निकालेको थियो । ब्राजिलबाट दुबई हुँदै नेपाल आइपुगेका यिनले कोकिन दुबईबाट ल्याएको बताएका थिए ।
ब्राजिलबाट आउँदा २४ घन्टा दुबईमा ट्रान्जिटमा बसेका यिनलाई त्यहीँको एक होटलमा एक भारतीय र एक अफ्रिकन मूलका दुई व्यक्तिले कोकिन दिएको प्रहरीलाई बयान दिएका थिए । ०६९ सालमा थाइल्यान्डकी एक महिलाको साथबाट पहिलोपटक एक किलो कोकिन बरामद भएको थियो ।
मरिना र एमसानीलाई पठाउने एउटै समूह
लागुऔषध ब्युरो स्रोतका अनुसार करिब १ वर्षअगाडि पक्राउ परेकी मलेसियन महिला मरिना र सोमबार पक्राउ परेकी दक्षिण अपि|mकन महिला एमसानीलाई कोकिन पठाउने समूह एउटै हुन सक्ने देखिएको छ ।
ब्युरोका एक अधिकृतले भने, ‘मरिना र एमसानीले कोकिन ल्याएको र लैजाने रुट एउटै देखिन्छ, त्यसैले उनीहरूलाई पठाउने ग्याङ पनि एउटै हुन सक्छ ।’
पहिलो पटक झोल कोकिन बरामद
नेपालमा चौथोपटक अवैध लागूऔषध कोकिन बरामद भएको छ । चौथोपटक बरामद भएको कोकिनको स्वरुप फरक छ । अघिल्लोपटक धुलो कोकिन बरामद भएको थियो भने यसपटक झोलमा भेटिएको छ ।
विश्वकै महँगो अवैध लागुऔषधमा पर्छ, कोकिन । पेरु र ब्राजिल कोकिन उत्पादन हुने मुख्य देश हुन् । यसको उत्पादन खर्च नै बढी लाग्ने भएकाले मूल्य पनि बढी परेको हुन सक्ने प्रहरी अधिकारीको अनुमान छ ।
सबैभन्दा महँगो लागुऔषध भएकाले नेपालमा यसका प्रयोगकर्ता नभएको प्रहरीको अनुमान छ । विषेशगरी युरोप तथा अमेरिकाका धनाढ्यले कोकिन सेवन गर्ने गरेको प्रहरीको बुझाइ छ । त्यसैले कारोबारीले नेपाललाई ट्रान्जिट मात्रै बनाइरहेको ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्द बताउँछन् ।
कारोबारीले यति महँगो लागुऔषध पटकपटक नेपालको रुटबाट भारत हुँदै अन्य मुलुक लैजाने प्रयास गरिरहेका छन् । तर, ब्युरोले त्यसलाई असफल बनाइदिएको छ । यस्तो कारबाहीले कारोबारीलाई नोक्सानी त हुन्छ नै, नेपालको बाटो लागुऔषध बोक्न सुरक्षित छैन भन्ने सन्देश पनि दिएको डीआईजी चन्दको भनाइ छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...