एजेन्सी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने भनिएको एक कार्यक्रमका लागि खेत खाली गर्न दिएको आदेश बिहारका किसानले अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री मोदीले बिहारको वैशाली जिल्लामा हुन लागेको एक र्यालीका लागि पाक्न लागेको बाली मासेर खेत खाली गर्न स्थानीय प्रशासनले दिएको आदेश किसानहरुले अस्वीकार गरेका हुन् ।
पाक्न लागेको बाली काटेर खेत खाली गर्न दिएको आदेश किसानहरुले नमानेपछि मोदीले सम्बोधन गर्ने भनिएको कार्यक्रमको स्थान नै बदल्नुपरेको छ।
बैशाली जिल्लाका किसानले बाली काट्न अस्वीकार गरेपछि प्रधानमन्त्री मोदीले अब सुल्तानपुरको बजाय छौकियामा यो कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का प्रदेश अध्यक्ष मंगल पाण्डेयका अनुसार प्रधानमन्त्री मोदी १२ मार्चमा बिहार आउने कार्यक्रम छ ।
उनी पटना उच्च न्यायालयको शताब्दी वर्ष समापन समारोहमा भाग लिनका लागि वैशाली जिल्लाको हाजीपुरमा हुने एक कार्यक्रममा सहभागी हुने भएका छन् ।
उनका अनुसार मोदीको कार्यक्रम हाजीपुरमा महात्मा गान्धीको स्मारक नजिकै छौकिया गाउँस्थित मैदानमा हुने भएको छ । मोदीले त्यहीँ दीघा-सोनपुर पुल राष्ट्रलाई समर्पित गर्ने भएका छन् । यस अवसरमा प्रधानमन्त्री मोदीले अन्य ठूला विकास योजनाको पनि शिलान्यास गर्ने कार्यक्रम छ ।
समाचार अनुसार यसभन्दा अघि प्रधानमन्त्रीको कार्यक्रम हाजीपुर औद्योगिक थाना क्षेत्रको सुल्तानपुरमा हुने तय भएको थियो ।
तर किसानहरुले खेतको बाली मासेर कार्यक्रमस्थल बनाउने कुराको तीब्र विरोध गरेका थिए । किसानहरुले प्रधानमन्त्रीको र्यालीका लागि आफ्नो काँचो बाली काट्न तयार नभएपछि उनको कार्यक्रमस्थल नै सार्नुपरेको हो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...