साढे ५ हजार प्रहरी जवानका लागि ३५ हजारको आवेदन
काठमाडौँ, ५ चैत । नेपाल प्रहरीमा रिक्त जवानका लागि खोलिएको विज्ञापनमा देशभरबाट ३५ हजार बढीको आवेदन परेको छ ।
नेपाल प्रहरीले गत माघ २४ देखि फागुन ३० गतेसम्म दरखास्त आह्वान गरेकामा देशभर खुलामा दुई हजार ९३७ सहित पाँच हजार ४४४ पदका लागि आवेदन खोलिएको थियो ।
उक्त पदमा देशभरबाट ३५ हजार २६४ को आवेदन परेकामा २९ हजार ५०५ पुरुष र पाँच हजार ७५९ महिला रहेको प्रहरी प्रवक्ता माधव जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “पछिल्लो समयमा रोजगारीको अभाव र ८ कक्षा उत्तीर्ण भएपछि खान मिल्ने सरकारी जागिर भएकाले प्रहरी जवानका लागि धेरैको आवेदन परेको हो ।”
सबैभन्दा धेरै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जमा नौ हजार ६३१ र सबैभन्दा थोरै अञ्चल प्रहरी कार्यालय कर्णालीमा ८१४ जनाको आवेदन परेको छ । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...