-->
घन ठोक्दै, ढुंगा फुटाउँदै....


लापु (गोरखा)- आरुघाटबजारमा बिहीबार एउटा जिप घच्याक्क रोकियो। केही विदेशी ओर्लिए र पसलमा पुगेर माक्स किने। गोरो छाला भएका पर्यटक आइरहने हुँदा कसैले ती विदेशीबारे खोजीनिती गरेनन्। ती विदेशी त्यहाँबाट सरासर जिपमै सोतीबेसीसम्म पुगे। त्यसपछि तीन घन्टा हिँडेर लापु आइपुगेको टोलीमा स्थानीयले नचिनेका एक नौला पात्र पनि थिए। टोली लापु गाविसस्थित लापु गेस्ट हाउस पुगेर थकाइ मार्न बस्यो।
टोलीमा ती नौला पात्र को थिए, कसैले चिनेनन्। भोलिपल्ट अर्थात् शुक्रबार टोली गाउँको स्कुल बनाउन निस्कियो, त्यतिबेला पनि गाउँलेले ठाने– विदेशी टोली स्कुलमा स्वयंसेवा गर्न आएका होलान्।
दिनभरि सँगै काम गर्दा पनि स्थानीयले भेउ पाएनन् कि टोलीमा बेलायती राजकुमार ह्यारी पनि छन्। पाऊन् पनि कसरी? ह्यारी पसिना चुहाउँदै घन ठोक्दै थिए, ढुंगा फुटाल्दै थिए।
एकाबिहानै साढे ६ बजे प्रभात किरण मावि पुगेर उनले माटो खन्ने, ढुंगा फुटाल्ने, डोकोमा ओसार्ने र बिच्छ्याउने काम गरिरहे। ११ बजेतिर खाना खाए अनि अर्काे ठाउँतिर हिँडे। त्यहाँ पनि उनको काम मजदुरी नै थियो। नौलीखोला लघु जलविद्युत आयोजना मर्मत भइरहेको ठाउँ पुगेर पनि शुक्रबार ह्यारीले मजदुरी नै गरे।
वैशाख १२ को भूकम्पले प्रभात किरण माविको भवन भत्काएपछि अहिले टहरामुनि पढाइ भइरहेको छ। स्कुल बनाउने काम धमाधम चलिरहेको छ र त्यसमा बेलायती स्वयंसेवी समूह 'रुबिकन' ले सघाउँदैछ। राजकुमार ह्यारी त्यही संस्थाको स्वयंसेवक बनेर शुक्रबार काममा खटिएका रहेछन्। उनी काममा खटिइरहँदा स्थानीय पनि सँगै ज्यालामजदुरी गर्दै थिए। एक मजदुरले भने, 'को हो को हो, हामीले चिन्ने कुरै भएन, कुनै गोरा आएर काम गरेको होला भन्ने लाग्यो।'
शिक्षकका अनुसार त्यहाँ ह्यारी आउने कुनै खबर थिएन। सहयोगी संस्थाले आफ्ना स्वयंसेवी आउने मात्र बताएको थियो। ह्यारी अरु पाँच जनाको टिममा आएका हुन् तर आइसकेपछि राजकुमार ह्यारी भन्ने चिने पनि कसैलाई नबताउन भनिएकाले शिक्षकले नाम खुलाउन मानेनन्।
शिक्षकले पनि आफैंले चिनेर मात्रै राजकुमार ह्यारी भन्ने भेउ पाएपछि अरुसँग सोधीखोजी गरेका थिए। ह्यारीले शुक्रबार प्रभात किरण माविको डिपिसी तयार भइसकेका कोठाका भित्री भागमा गिटी छाप्ने काम गरेका थिए। उनी थप चार दिन विद्यालयका लागि स्वयंसेवामा खटिने शिक्षकले सुनाए। स्थानीयले बिहीबार ह्यारीसहितको विदेशी टोलीलाई फूलमालाले स्वागत गरेका थिए।
ह्यारी बिहीबार हिँडेको बाटो अनकन्टार मात्र होइन, अप्ठेरो पनि छ। बूढीगण्डकीको तीरैतीर, मान्छे पनि एकतर्फी मात्रै अट्ने साँघुरा घुम्ती धेरै छन्। खच्चड हिँड्ने त्यस्तो अप्ठेरो बाटोको यात्रा ह्यारीले पैदलै ३ घन्टा काटेका थिए। उनी गोरखा आउने सुइँको पाए पनि कहाँ भन्ने मेसो नभएपछि जिल्लाको प्रशासन तथा सुरक्षा अधिकारीले खोज्दाखोज्दा हैरान थिए। कसैले उनी लापु पुगेको पत्तै पाएनन्।
पाँचदिने भ्रमणका लागि नेपाल आएका उनले थप ६ दिन विकास निर्माणमा खटिने गरी बुधबार मात्र भ्रमण लम्ब्याएका हुन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.