-->
नेविसंघमा कुटाकुट भएपछि देउवाले मुख खाले, घाइते भेट्न अस्पतालै पुगे

काठमाडौं, १२ चैत । आफ्नै पार्टीका विद्यार्थी नेताहरु भिडेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख खोलेका छन् ।
यति मात्रै होइन देउवा शुक्रबार साँझ कुटपीटबाट घाइते विद्यार्थी नेता भेट्न अस्पतालै पुगेका छन् । नेता देउवाले कुटाई खाएर घाइते भइ उपचाररत शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतलाई पुतलीसडकस्थित क्यापिटल अस्पताल पुगेर भेटेका छन् ।
अस्पतालमा बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घटनाको छानविन गर्ने र दोषीलाई कारवाही गर्ने बताएको नेविसंघ शंकरदेव क्याम्पसका अध्यक्ष हरिश भण्डारीले जानकारी दिए । ‘तिमीहरु आपसमा लड्दा मलाई तनाव भएको छ । एकै संगठन भएपछि मिलेर बस्नुपर्छ । नहुने घटना भयो । छानविन हुन्छ । संलग्नलाई कारवाही गर्छु भनेर शेरबहादुर दाईले भन्नुभएको छ,’ अध्यक्ष भण्डारीले भने ।
कांग्रेसको महाधिवेशन सकिएपछि नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशन अध्यक्षका दावेदार नेताद्वय जितजंग बस्नेत र शुभराम बस्नेतको समूहबीच शंकरदेव क्याम्पसमा झडप भएको थियो । झडपका क्रममा शुभराम गम्भीर घाइते भएका थिए ।
आफूलाई भेट्न आएका सभापति देउवालाई उपचाररत शुभरामले जितजंगमाथि कारवाही गर्न माग गरेका थिए । उनले नेविसंघको अब हुने महाधिवेशनलाई लक्षित गरेर जितजंगले आपराधिक मान्छेहरु प्रयोग गरी आफूमाथि खुकुरी प्रहार गरेको भन्दै खुकुरी प्रहारमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउन देउवासँग आग्रह पनि गरेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.