करिब ५ बर्षपछि नेपाली चलचित्र क्षेत्रमा र्फकदै गरेका नायक विराज भट्टलाई पटक-पटक मिडियादेखि दर्शकले सोध्ने एउटै प्रश्न थियो-‘तपाई कहाँ हराउनुभयो ?’ यही प्रश्नको जवाफ वारम्वार दिदै आएका विराजले आफूले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘पर्शुराम’को पत्रकार सम्मेलनमा पनि यो कुरा दोहोर्याए ।
उनले भने-‘मैले नेपाली चलचित्र खेल्ने प्रयास बेला-बेलामा गरेको थिएँ । धेरै कारणले यो कुरा सफल हुन सकेन ।’ आफूलाई धेरैले भोजपुरी चलचित्रमा पैसा कमाउन गयो भनेर पनि आरोप लगाएको भन्दै विराजले आफू अहिले पनि भोजपुरी चलचित्रमा व्यस्त भएको बताए । उनले अहिले पनि ‘पर्शुराम’का लागि आफूले २ वटा सेड्यूल दिएको बताए ।
उनले भने-‘म भोजपुरी चलचित्र उद्योगमा जानु पैसाको कुरा मात्र थिएन । मैले चलचित्र क्षेत्र नै छाडेको थिइन, अर्को देशको चलचित्रमा मात्र गएको थिएँ ।’ धेरै नेपाली कलाकारले भोजपुरी चलचित्रमा काम गरेको भन्दै विराजले आफूले पाएको सफलतालाई घुमाउरो शैलीमा आफ्नो प्रगती पनि भने ।
उनले यो चलचित्र खेल्दा आफूलाई पहिलो चलचित्रमा काम गर्न लागेको जस्तो अनुभव भएको भन्दै खुशी व्यक्त गरे । अब निरन्तर नेपाली चलचित्र खेल्ने विश्वास दिलाउँदै विराजले आफूलाई दर्शकले साह्रै माया गरेको बताए । उनले भने-‘म भोजपुरी चलचित्रमा रहँदा पनि दर्शकले माया गरेका थिएँ ।
विचमा भोजपुरी चलचित्रलाई ल्याएर नेपालीमा डबिङ गरेर पनि देखाइयो भन्दै उनले यस्तो काम आफूलाई मन नपरेको बताए । यो चलचित्र भने ओर्जिनल नेपाली चलचित्र भएको उनको भनाई थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...