काठमाडौं, १ चैत । मधेस आन्दोलनका बेला चर्चा र उत्तेजक अभिव्यक्ति दिइ चर्चामा आएका सद्भावना पार्टीका अध्यक्ष एवम् मधेसी मोर्चाका नेता राजेन्द्र महतो दुई दिनदेखि आफ्नो गृह जिल्ला सर्लाहीमा राजनीतिक भेटघाटलाई तीब्रता दिइरहेका छन् ।
अध्यक्ष महतो दुई दिनअघि गृह जिल्ला सर्लाही पुगेका हुन् । उनको पर्खौली घर बबरगञ्जमा पर्छ । तर उनी त्यहाँ कमै मात्र बस्छन् । उनी बस्ने भनेको काठमाडौंको भीमसेनगोलास्थित निवासमा नै हो । सर्लाही जाँदा पनि महतो धेरै सदरमुकाम मलंगवामा बस्ने गर्छन् । यसपटक भने बबरगञ्जस्थित निवासमा बसेको स्रोतको भनाइ छ ।
सर्लाही जिल्लाबाट राजनीति गर्दै आएका महतो दोस्रो संविधानसभामा पराजित भएका थिए । आफू पराजित भए पनि महतोले समानुपातिकमा आफ्नी पत्नीलाई सांसद भने बनाउन भ्याएका छन् ।
अध्यक्ष महतोले अझै एक–दुई दिन सर्लाहीका आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने महासचिव मनीषकुमार सुमनले जानकारी दिए । ‘अध्यक्ष ज्यू पार्टी कामले गृह जिल्ला सर्लाही जानुभएको छ’, महासचिव सुमनले भन्नुभयो, ‘गाउँगाउँ डुलेर संगठन बनाउने उद्देश्यले अध्यक्ष सर्लाही जानुभएको छ ।’
मधेसी मोर्चाका शीर्ष नेताहरू नयाँदिल्ली गएका छन् । तर सद्भावना पार्टीका अध्यक्ष महतो भने यस पटक नयाँदिल्ली नगइ गृह जिल्ला गएर संगठन गरेका छन् । नयाँदिल्ली जानेमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका रहेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...