काठमाडौं, २४ फागुन । फागुन २० गतेबाट सुरु भएको कांग्रेसको १३ औं महाधिवेशनले गर्ने नेतृत्व चयनमा भारतको समर्थन कसलाई होला ? महाधिवेशनभरि यसको चर्चा चल्यो, तर ठोस जवाफ कसैले दिन सकेन ।
विगत महाधिवेशनमा कांग्रेसका दुवै गुटलाई विदेशी शक्तिहरुले खर्चवर्च समेत दिएको चर्चा चलेकाले यसपटक कसले समर्थन र खर्चवर्च पाउँछ भनेर कांग्रेसी कार्यकर्ताहरुले निकै चनाखो भएर ध्यान दिएका थिए ।
तर, कसले समर्थन पायो भन्ने ठोस भेउ कसैले पाउन सकेन । भारतीय कूटनीति, रणनीति नियालिरहेकाहरु भन्छन्- जसले जित्छ, उसैलाई भारतले समर्थन दिन्छ, किनभने जसले जिते पनि भारतको लागि हानी छैन ।’ यस्ता जानकारहरुको अर्को दावी के छ भने भारतको रुचि पार्टीमा भन्दा संसदीय दलमा धेरै छ ।
संसदीय दलको नेता को बन्छ उसैले सरकारमा नियन्त्रण राख्ने भएकाले भारतीय चासो यताभन्दा उता धेरै हुने बताइएको छ ।
महाधिवेशन मौका पारेर भारतीय नेताहरु पनि नेपाल आए । उनीहरुले महाधिवेशनलाई शुभकामना दिँदा आफ्नो लाइन जारी गरेनन्, कांग्रेस यो बाटोमा लाग्नुपर्छ पनि भनेनन् । तर, खासगरी भारतमा सत्तासीन हिन्दूवादी भारतीय जनता पार्टीका नेताहरुले कांग्रेस नेताहरुलाई अनौपचारिक कुराकानीमा प्रष्टैसँग भनिदिए – नेपाल हिन्दूराष्ट्र हुनुपर्छ ।’
भारत सुरु देखि नै वरिष्ठ नेता शेरबहादुर देउवाको पक्षमा देखिएको छ । उनलाई जिताउन भारतीय नेताहरुले गोप्य रुपमा संयन्त्र परिचालन गरेका थिए । उच्च जानकार स्रोतका अनुसार भारतीय नेताहरुले यतिमात्रै भनेनन्, हिन्दू राष्ट्र नबनेसम्म मधेस आन्दोलन चर्किरहने र नाकाबन्दी पूरा नखुल्ने बताए । साँघु साप्ताहिकमा समाचार छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...