-->
दाइजोमा १० लाख र मोटरसाइकल लिएर दुई लाख नदिएको भन्दै पत्नीको हत्या


सर्लाही, चैत १७ – सर्लाहीको फूलपरासीमा दाइजो नल्याएको भन्दै एक महिलाको हत्या भएको छ । फूलपरासी गाविस-४ का अनितकुमारले दाइजो नल्याएको भन्दै पत्नीको हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
अनितले बगदह गाविस-२ की २० वर्षकी अनितादेवीको चैत १५ गते हत्या गरेको खुलासा भएको हो । अनित र अनिताको गएको जेठ २२ गते विवाह भएको थियो । बिबाहमा अनिताका परिवारले अनितलाई १० लाख रुपैयाँ नगद र एउटा मोटरसाइकल दाइजो दिएका थिए । अनितले फेरि दुई लाख रुपैयाँ दाइजो ल्याउन दवाव दिँदै आएको प्रहरीले अनुसन्धानबाट खुलेको बताएको छ । दुई लाख रुपैयाँ दाइजो नल्याएको निहुँमा अनितले चार महिनाकी गर्भवती अनितादेवीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको गाउँलेहरुले बताएका छन् । उनीहरुले अनितको अनिताप्रतिको व्यवहार गलत भएको बताएका छन् ।
सर्लाहीका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने भएपनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र वास्ताविक कारण पत्ता लाग्ने डिएसपी रिजालको भनाई छ । अनितका परिवारले भने अनितादेवीले विष सेवन गरि आत्महत्या गरेको दावी गरेका छन् ।
सर्लाहीमा गम्भीर किसिमका महिला हिंसाका घटना बढ्न थालेपछि मानव अधिकारकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन् । परिवारको यातना सहन नसकेर सर्लाहीको हरिपूर्वामा एक महिना अघि मात्र एक महिलाले आफ्नी दुई छोरीसहित आत्महत्या गरेकी थिइन् । एक महिनाको अवधीमा नोकेल्वामा दुई जना महिलाको हत्या, अर्नाहमा ९ वर्षकी बालिका बलात्कृत, सलेमपुरमा गर्भवती महिलालाई घर निकाला लगायतका गम्भीर किसिमका महिला हिंसाका घटना भएका छन् ।
Ujyaaloonline बाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.