-->
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीद्वारा दिल्लीमा सम्बोधन

काठमाडौं, १ चैत । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा सहभागी भई आज सम्बोधन गर्नुभएको छ ।
भारतका चर्चित आध्यात्मिक गुुरु श्री श्री रविशंकरद्वारा स्थापित सँस्था ‘द आर्ट अफ लिभिङ’ तथा अन्य विभिन्न सामाजिक सँस्थाहरुको आयोजनामा फागुन २८ गतेदेखि शुरु भएको महोत्सवको समापन कार्यक्रममा सम्बोधन गर्दै रेग्मीले साँस्कृतिक विशेषताले विश्वमा मानवीय सेवामा अघि बढ्न उत्प्रेरित गर्ने हुँदा यसप्रकारको साँस्कृतिक महोत्सवले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुुभयो ।
विगतमा आध्यात्मिक गुरु श्री श्री रविशंकर नेपाल भमणमा आएको स्मरण गर्दै ‘द आर्ट अफ लिभिङ’ले समाजमा शान्ति, सद्भाव र सकारात्मक विचारको प्रवद्र्धनमा सहयोगी बनेको धारणा पनि उहाँले व्यक्त गर्नुभएको थियो । महोत्सवको समापन समारोहमा सम्बोधनकै क्रममा रेग्मीले नेपाल र भारतबीच साँस्कृतिक सम्बन्ध कायम रहेको बताउँदै साँस्कृतिक एवं सामाजिक रुपमा समेत समान रहेका दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई दीगो बनाउन यस प्रकारका साँस्कृतिक महोत्सवहरुको आयोजना अत्यन्त प्रभावकारी हुने पनि बताउनुभयो ।
महोत्सवमा १५५ देशका प्रतिनिधि र ३५ हजार कलाकारको सहभागिता रहेको बताइएको छ । करिब ३५ लाख मानिसहरु सहभागी रहेको महोत्सवमा नेपालबाट मात्र १५० जना कलाकारहरु लगायत ‘द आर्ट अफ लिभिङ’संग सम्बन्धित हजारौं नेपालीहरुको सहभागी रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएको सो महोत्सबमा भारत सरकारका प्रायः सबै सांसद तथा मन्त्रिहरुका साथै भारतबाहिरका सांसद, मन्त्रीहरु, सरकार प्रमुखहरु, राष्ट्रप्रमुखहरु, पूर्व राष्ट्रप्रमुखहरु तथा पूर्व सरकार प्रमुखहरुको महोत्सवमा उल्लेख्य सहभागीता रहेको आयोजकले जानकारी दिएका छन् ।
सहयोगी राजेन्द्रप्रसाद पाण्डेयका साथ चार दिने भारत भ्रमणमा रहनुभएका मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मी कार्यक्रममा सहभागी भई आज स्वेदश फर्किने कार्यक्रम रहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.