काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ पाकिस्तानी समकक्षी नवाज शरिफलाई टेलिफोन गरेका छन् ।
पाकिस्तानको लाहोरमा भएको बम विष्फोटमा परी मृत्यु भएका पाकिस्तानी जनताप्रति श्रद्धाञ्जलि अर्पण गर्न ओलीले पाकिस्तानका प्रधानमन्त्री सरिफलाई आज साँझ फोन गरेका हुन् ।
आइतबार राति पाकिस्तानको लाहोरस्थित एक समारोहमा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा परी कम्पतीमा ७० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।
पाकिस्तानमा भएको यो आतंककारी हमलाको निन्दा गर्दै प्रधानमन्त्री ओली समकक्षीलाई फोन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
त्यसअवसरमा प्रधानमन्त्री ओलीले घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे । टेलिफोनमा प्रधानमन्त्रीले पाकिस्तानका प्रधानमन्त्रीसँग यस दुःखद घडीमा मृतक पाकिस्तानी जनताका आफन्तजन र परिवारजनमा समबेदना प्रकट गर्दै नेपाल सरकार र नेपाली जनता पाकिस्तान सरकार र पाकिस्तानी जनताको साथमा रहेको बताए । टेलिफोनमा पाकिस्तानका प्रधानमन्त्री सरिफलाई प्रधानमन्त्री ओलीले आतंकबादको मिलेर सामना गर्नुपर्ने बताए ।
जवाफमा पाकिस्तानी प्रधानमन्त्रीले सहानुभुति प्रकट गरेकोमा धन्यवाद दिँदै नेपाल र पाकिस्तान मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीले आजै नेपाल सरकारका तर्फबाट पाकिस्तान सरकारलाई बम विष्फोटका कारण भएको मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै लिखित पत्र समेत पठाएका छन् ।
दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...