काठमाडौं, ८ चैत । नेपाल र चीनबीच पारबहन र व्यापार लगायत १० वटा महत्वपूर्ण विषयमा सम्झौता भएको छ ।
बेइजिङस्थित चीनको संसद भवन ग्रेट हल अफ दि पिपुलमा सोमबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच भएको द्विपक्षीय वार्तापछि नेपाल र चीनबीच पारबहन तथा यातायात, खुल्ला व्यापार क्षेत्र व्यवस्थापन र ग्यास पेट्रोलको अन्वेषण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री कमल थापा र चीनका तर्फबाट विदेशमन्त्री वाङ यीले हस्ताक्षर गरेको बेइजिङमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन् ।
नेपाल र चीनबीच भएका सम्झौताहरुः
पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका सम्झौताहरु भएका छन् ।
यसअघि प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्रीबीच छुट्टै भेटवार्ता भएको थियो । दुई देशका प्रमबीच नेपाल चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको थियो । साथै नेपालको विकासमा चीनले पुर्याउने सहयोगका विविध पक्षमा छलफल पनि भएको प्रमका प्रेस सल्लाहकार दाहालले बताए ।
उनका अनुसार सोमबार विहानै प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ सेनाको एक टुकडीले तोप पड्काएर सलामी अर्पण गर्नुका साथै भव्य स्वागत गरेको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...