अचार खाएका ह्यारी घाँटुनाचमा यसरी रमाए
लमजुङ,८ चैत । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ले गौँडा गाविस वडा नं ४ भिरकुनाबाट वडा नं ७ को लेउरानी गाउँसम्म एक घन्टाको पदयात्रा गरेका छन् । राजकुमार ह्यारीसहितको टोली सोमबार गाउँमा घरबास (होमस्टे) मा बास बसेका छन् ।
ह्यारी गाउँमा पुग्दा स्थानीय गुरुङ परम्परानुसार फेटा बाँधेर, चामलको सेतो टीका र फूलमाला लगाएर स्थानीयवासीले स्वागत गरेका थिए । उनले ८८ वर्षीया मङ्गली तामाङका घरमा बनाइएको कोदाको ढिँडो, स्थानीय कुखुराको मासु, गोलभेँडाको पिरो अचारसहितको परिकार खाएका थिए । ‘मैले अफगानिस्तानमा गोर्खा सैनिकसँग रहँदा पिरो अचार खाएको थिएँ, पिरो अचारले शरीर तात्छ, यहाँ पानी परेर चिसो भएकाले अरु स्थानीय परिकारसहित गोलभेँडाको पिरो अचार मलाई विशेष स्वादिलो लाग्यो’ ह्यारीले भने ।
त्यहाँ गुरुङ परम्परानुसार देखाइएको घाँटु र तामाङ नाचमा ह्यारी नाचेका थिए । ह्यारीले वडा नं ७ को लेउरानी गाउँमा पुगेर दोस्रो विश्वयुद्धमा बेलायती सेनाबाट लडेका गोर्खा सैनिक गञ्जुराम तामाङकी ८८ वर्षीया धर्मपत्नी मङ्गलीलाई भेटेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...