होली नमनाउने निर्णयविरुद्ध उत्रिए हिन्दूवादी युवा
काठमाडौं, ९ चैत । सोमबारको बैठकबाट हिन्दूहरुको महान पर्व होली नमनाउने निर्णय गरेको मधेसी मोर्चालाई दक्षिण तराईबाट कडा चेतावनी आएको छ ।
नेपालको दक्षिण भुभाग तराईमै केन्द्रीय कार्यालय रहेको हिन्दू युवा जनशक्ति संघले मोर्चालाई हिन्दू संस्कृति मास्ने अधिकार छैन् भन्दै चेतावनी दिएको हो ।
सोमबार राजधानीमा बसेको मोर्चाको बैठकले होली नमनाउने निर्णय गरेको थियो भने नमनाउन अपील गरेको थियो ।
मोर्चाको यस्तो अपीलपछि हिन्दू युवा संघले ‘सदियौ देखीको हिन्दु संस्कृतिलाई बचाउनका निम्ति कुनै कार्य नगर्ने तर मधेशको अधिकारको लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका बीर मधेशी सपुतहरुको सम्झनाको नाममा दशै, छठ, होली जस्ता हिन्दुहरुको महान पर्वहरु नमनाउन उर्दी जारी गर्ने मधेशी मोर्चाले संस्कृतिलाई मास्न खोजेको’ भन्दै गम्भीर ध्यानाकर्षण जनाएको हो ।
‘संस्कृति माथि प्रहार हुने खालका अदुरदर्शी निर्णय मधेश, मधेशी जनता र देशको हितमा कदापी हुन सक्दैन,’ अध्यक्ष विकास ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘दशै, छठ, होली नमनाउन उर्दी जारी गर्ने मोर्चा गैर हिन्दुहरुको पर्व ईद, बकरीद, क्रिष्मस लगायतमा शुभकामना दिईरहेकोमा संघ घोर आपति प्रकट गर्दछ ।’
अधिकारको लागि भईरहेको आन्दोलनको नाममा हिन्दु संस्कृतिलाई मास्ने अधिकार मोर्चासंग नभएको संघले भनेको छ । विज्ञप्तिमा भनिएको छ– ‘देशमा उत्पीडीत समुदायले अधिकारको लागि गरेको हरेक आन्दोलनमा हिन्दुहरुकै महत्वपुर्ण योगदान रहेको हुनाले आगामी दिनमा हिन्दु धर्म,संस्कृतिको महत्वलाई समाप्त गर्ने गरी कुनै निर्णय नगर्न मोर्चालाई संघ सुझाव दिन चाहन्छ ।’

0 comments
प्रतिक्रिया दिनुहोस्...