काठमाडौँ । दुई पदाधिकारी र आठ मनोनीत केन्द्रीय सदस्य दिने प्रस्ताव लिएर खुमबहादुर खड्कासमक्ष पुगेका नेताहरू रामचन्द्र पौडेल र डा. शशाङ्क कोइरालाले शेरबहादुर देउवासमक्ष पुग्दा भने ‘आश्चर्यजनक’ प्रस्ताव राखेको समाचार प्राप्त भएको छ ।
दोस्रो चरणको मतदानका दिन (फागुन २४ गते) सोमबार बिहान आठ बजे सभापतिका उम्मेदवार रामचन्द्र पौडेल महामन्त्रीका उम्मेदवार डा. शशाङ्क कोइरालालाई लिएर सानेपास्थित नेता खुमबहादुर खड्काको निवासस्थान पुगेका थिए । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाभन्दा चार सय बाह्र मतले पछाडि परेका पौडेललाई खुमबहादुरको साथ पाए विजयी बन्ने विश्वास थियो र उनी ‘आकर्षक’ प्रस्ताव लिएर खड्काको निवासस्थान पुगेका थिए ।
सभापतिमा आफूलाई सघाउन आग्रह गर्दै पौडेलले भने, ‘तपार्इंलाई उपसभापति बनाउनेछु, तपाईंको सिफारिसमा सहमहामन्त्री नियुक्त गर्छु र केन्द्रीय सदस्यहरू आठजना तपार्इंले भनेबमोजिम नियुक्त गर्नेछु ।’ पौडेलको प्रस्तावमा सहमति जनाउँदै डा. कोइरालाले पनि नेता खड्कालाई रामचन्द्र पौडेलको समर्थन गर्न आग्रह गरे । तर, खड्काले उनीहरूले प्रस्तावलाई स्वीकार गर्न सकेनन । आफूबाट यसप्रकारको कार्य हुन नसक्ने स्पष्ट गर्दै खड्काले जवाफ फर्काए, ‘अब अहिले आएर यस्ता कुरा गर्नुको कुनै अर्थ छैन । तपाईंहरूलाई कृष्ण सिटौलाले त समर्थन गर्लान् जस्तो मलाई लागिरहेको छैन । मैले आफ्नो निर्णय बदल्न आवश्यक ठानेको छैन र बदलिँदैन पनि, म तपाईंलाई शुभकामनाबाहेक अहिले केही पनि दिन सक्दिनँ ।’ यसरी खड्काले पौडेल–कोइरालाको प्रस्ताव अस्वीकार गरेपछि उनीहरू दुवैजना शेरबहादुर देउवासँग विशेष भेटवार्ताका लागि हिडे ।
आफूहरू एउटा विशेष सहमति गर्न आएको बताउँदै पौडेलले सहमतिका निम्ति देउवाले दुईवटा प्रस्ताव स्वीकार गर्नुपर्ने बताउए । पहिलो चरणको निर्वाचन परिणामबाट सन्तुष्ट र उत्साही रहेका नेता देउवा पनि भरसक चुनाव दोहोर्याउनु नपरोस् भन्ने मानसिकतामा थिए । तर, कांग्रेसको विधानविपरीत जान सकिने अवस्था थिएन । त्यसका बाबजुद देउवाले जिज्ञाशा प्रकट गरे, ‘के हो, के ? के सहमति भनेको ?’
देउवाको जिज्ञाशा मेट्दै पौडेलले भने, ‘मलाई अबको प्रधानमन्त्री बनाउने गरी कांग्रेस संसदीय दलको नेता बनाउने र खुमबहादुर खड्कालाई पार्टीको कुनै पनि जिम्मेवारी नदिने हो भने म पछि हटिदिन्छु, तपार्इं सभापति बन्नुहोस् । खुमबहादुरलाई पदाधिकारी नबनाइदिनुहोस्, त्यति भए मलाई पुग्छ ।’ पौडेलको यस्तो प्रस्ताव सुनेर देउवा झोक्किएर भने, ‘बाफ रे ! बाफ रे ! यस्तो कहाँ हुन्छ यार ! खुमबहादुरसँग मेरो एउटा समझदारी भइसकेको छ, त्यसलाई तोड्ने काम मबाट हुँदैन । संसदीय दलको नेता पनि मैले मात्र चाहेर दिन सकिँदैन, मतदान हुन्छ त्यसमा के गर्ने ?’ यसरी देउवाले स्पष्ट कुरा राखिदिएपछि पौडेल-शशाङ्क निराश भएर फर्किएका थिए ।
त्यसपछि पौडेल–शशाङ्क पक्षले खुमबहादुरले हामीलाई सघाउने भए भन्दै व्यापक प्रचारबाजी गरेको थियो । खड्काको बदनाम गर्ने र देउवा-खड्का सहमतिलाई धक्का पुयाउने उद्देश्यले पौडेल पक्षबाट खड्काको समर्थन रामचन्द्रलाई हुने भनी प्रचारबाजी सुरु गरिएको थियो । तर, देउवासमक्ष पुगेर रामचन्द्र–शशाङ्कले किन खड्कालाई पदाधिकारी नबनाउन प्रस्ताव गर्नुभएको थियो सो भने स्पष्ट हुन सकेको छैन । यस प्रकरणले रामचन्द्र पौडेलको स्वभाव भने छर्लङ्ग बनाइदिएको छ । घटना र विचार साप्ताहिकमा समाचार छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...