रेल विस्तार र इन्धन आयातबारे सैद्धान्तिक सहमति
काठमाडौं, ८ चैत । नेपाल र चीनबीच सोमबार १० वटा सम्झौता भए ।
तर, आम नेपालीले अपेक्षा गरेको इन्धन सम्झौता भएन् । इन्धन सम्झौता नभएपछि चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना र विरोध भयो ।
तर, सोमबार राति बेइजिङबाट प्राप्त समाचार अनुसार आम नेपालीले चाहेको इन्धन सम्झौता पनि प्रधानमन्त्री ओलीकै भ्रमणका बेला हुने निश्चित भएको छ ।
बेइजिङमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार रेल विस्तार र इन्धन आयातबारे सोमबारै सैद्धान्तिक सहमति भएको छ ।
नेपालबाट प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री लि खछ्याङबीच रेल विस्तार र इन्धन आयातबारे सैद्धान्तिक सहमति भएको हो । यो विषयमा बुधबार सम्झौता हुने र संयुक्त विज्ञप्ति जारी गर्ने तयारी छ ।
‘आज भएको सम्झौतामा पेट्रोलियम सम्झौतामा नेपालले चीनबाट इन्धन आयात गर्नेबारे तथा नेपालसम्म रेलवे सेवा विस्तार गर्नेबारे सैद्धान्तिक सहमति भएको छ । यससम्बन्धी विस्तृत विवरण दुई देशबीच जारी हुने संयुक्त विज्ञप्तिमा उल्लेख हुनेछ । संयुक्त विज्ञप्ति पर्सी बुधबार जारी हुनेछ,’ बेइजिङबाट प्रमका प्रेस सल्लाहकार दाहालले भने ।
भारतले पाँच महिना लामो नाकाबन्दी गरेपछि इन्धन आयातको विकल्प खोज्दै नेपालले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढाएको थियो । जसले ओलीकै भ्रमणका क्रममा मूर्तता पाउने निश्चित भएको हो ।
नेपालले भारतबाट आयात हुने इन्धनको कम्तिमा ३० प्रतिशत इन्धन चीनबाट ल्याउने गरि दुई देशबीच सम्झौता हुन लागेको बताइएको छ ।
यसअघि आजै नेपाल र चीनबीच १० बुँदे सम्झौता भएको छ । जसमा पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका सम्झौताहरु भएका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...