-->
पाँच रुपैयाँबाट करोडपति बने किसान चन्द्रलाल तामाङ


धनकुटा, १५ चैत, कृषिमा भविष्य छैन भन्दै युवा जनशक्ति पलायन भइरहेका बेला तिनीहरुका लागि गतिलो उदाहरण बनेका छन् धनकुटा भीरगाँउका ४७ वर्षीय किसान चन्द्रलाल तामाङ । २०३९ सालमा आईए पढ्दा पढ्दै पाँच रुपैयाँको बीऊ किनेर तरकारी खेती सुरु गरेका तामाङ अहिले वार्षिक एक करोड रुपैयाँ माथिको कृषि उपज उत्पादन गरी बिक्री गरिरहेका छन् ।
करेसाबारीबाट कृषि सुरु गरेका तामाङले अहिले फैलिएर दुई सय १० रोपनीसम्म पुगेको छ । कृषिमा आएको आधुनिकता र विविधताले पनि उनलाई सफलता दिलायो । अहिले उनको ६० रोपनी जमिनमा अर्गानिक चिया खेती छ । ५० रोपनीमा फैलिएको अलैँची बगानबाट वार्षिक करिब आठ मन अलैँची उत्पादन हुन्छ । 'कमाउने हो भने एक दुई गरो आलु, कोपी र दुई चार वटा गाई बाख्रा होइन, एउटै उत्पादनमा जमेर लागेर व्यवसायिक बन्नुपर्छ', तामाङ भन्छन्, 'उत्पादन धेरै गर्न सके सस्तोमा बिक्री भएपनि फाइदा हुन्छ ।'
पछिल्ला वर्षमा तामाङको सबैभन्दा गतिलो आम्दानीको स्रोत अलैँची नर्सरी बन्दै आएको छ । विभिन्न भाइरसजन्य रोगले अलैँची बगान मासिएपछि उनले बीऊबाटै बिरुवा उत्पादन थालेका हुन् । बीऊबाटै बिरुवा उमारिएमा भाइरसजन्य रोगको जोखिम कम हुन्छ । बिरुवाका लागि पूर्वी पहाडी जिल्लाका किसानहरु उनकै नर्सरीमा धाएर आउने गरेका छन् । १० रोपनी जग्गाको क्षेत्रफलमा करिब १२ लाख रुपैयाँ खर्च गरेर गरिएको नर्सरीबाट गत वर्ष उनले ६१ लाख ५० हजार रुपैयाँको बिरुवा बिक्री गरे । तीन वर्षअघि छ रोपनी जग्गामा लगाएको किवी बगैँचाबाट यस वर्ष एकै पटकमा लगानी उठ्यो ।
कृषिसगैँ पशुपालन पनि उनले गरिरहेका छन् । उनले उन्नत जातका १० माउ भैँसी पालेका छन् । उत्पादित दूध बिक्री नभएर अन्य ठाउँ तथा वरिपरिका गाईपालक किसान के गर्ने भन्ने चिन्तामा परेका बेला उनी कहाँ भैँसीको दूध लिन खोजीखोजी मानिस आउने गरेका छन् । दैनिक ५२ लिटर उत्पादन हुने दूधका लागि उपभोक्ताले गाईको दूध भन्दा प्रतिलिटर १० रुपैयाँ बढी तिरेर लैजान्छन् । अलैँची, तरकारी, किवी र चिया लगाएर बचेको उनको जमिनमा डाले घाँस र उत्तिसको वन रहेको छ । उनले खेतीमा रसायनिक मल लगाउँदैनन् । भैँसी र गड्यौलाबाट पर्याप्त प्राङ्गारिक मल उत्पादन हुन्छ ।
तामाङका १५ जना भन्दा बढी सहपाठी आज कतिपय सरकारी कार्यालयका प्रमुख छन् । कोही उच्च पदमा पुगेर अवकाश भइसकेका छन् । सुकिला मुकिला लुगामा सजिएर सरकारी सुविधा उपभोग गर्नेको सान देख्दा दुखिया पेसा अँगालिएछ भन्दै निराश भएका तामाङ कृषिबाटै व्यवसायिक बन्न सकेकोमा दंग परेका छन् । यही पेशाबाट सात जनाको परिवार राम्रोसँग पालिएको छ । उनको कृषि फार्ममा चार जना स्थानीय युवाले रोजगारी पनि पाएका छन् ।
किसान चन्द्रलाल तामाङको चिया बगान
गत वर्ष राष्ट्रपतिबाट उत्कृष्ट किसान सम्मान समेत तामाङले पाए । देशभरका लाखौँ किसानबाट छानिएर एक लाख रुपैयाँको चेक र सम्मानपत्र पाउँदा उनले सहपाठीभन्दा आफू पनि कम नभएको महसुस गरे र उनमा गर्वको सिमा रहेन । त्यो दिन उनका लागि कृषिमा बिताएका ३० वर्ष मध्ये सबैभन्दा बढी खुसी र आत्मसम्मान उच्च भएको दिन थियो । उनी भन्छन, 'राज्यले सम्झियो, कृषि कर्ममा लागिरहने उत्साह र जाँगर भरिएको छ ।'
कृषि र पशुपालनमा लागेर तामाङको आर्थिक हैसियत सुध्रिएको छ नै यता सामाजिक प्रतिष्ठा पनि चुलिएको छ । उनले वेरोजगार भइयो भनेर पलायन हुने युवालाई आधुनिक र व्यावसायिक कृषि पेशामा लागेर प्रगति गर्न सुझाव दिएका छन् ।
Aajako Khabar बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.