-->
नमुना बस्ती बनाउन धुर्मुस-सुन्तलीले अनलाइनबाट मागे ५३ लाख

काठमाडौं : भूकम्प गएको वर्षदिन बैशाख १२ गते सिन्धुपाल्चोकको मेलम्चीमा एकीकृत बस्ती शिलान्यास गरेका कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बस्ती निर्माणका लागि आर्थिक सहयोग गर्न आह्वान गरेका छन्। अनुमानित साढे तीन करोड रुपैयाँ लाग्ने यो बस्ती निर्माणका लागि आर्थिक सहयोग गर्न धुर्मुस-सुन्तुलीले आग्रह गरेका हुन्।
उनीहरुले मेलम्ची ८ गिरानचौरमा ६५ भूकम्प प्रभावित परिवारका लागि एकीकृत नमुना बस्ती निर्माण अभियान थालेका छन्। यसको निर्माण यही बैशाख २९ गतेबाट सुरु हुनेछ।
इन्टरनेटबाट सहयोग संकलन गर्ने वेबसाइट
गोफन्डमीमार्फत आर्थिक सहयोग गर्न उनीहरुले आग्रह गरेका छन्। गिरानचौर एकीकृत नमुना बस्ती निर्माण गर्न उनीहरुद्वारा स्थापित धुर्मुस सुन्तली फाउन्डेसनले ५० हजार अमेरिकी डलर (करिब ५३ लाख रुपैयाँ) अनलाइनबाट संकलन गर्ने लक्ष्य राखेको छ।
विदेशमा रहेका नेपालीहरुको सजिलोका लागि अनलाइनबाट सहयोग संकलन गर्ने व्यवस्था मिलाइएको फाउन्डेसनले जनाएको छ।
मिसन घटस्थापना योजनाअनुसार काम भयो भने हास्यँ कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दसैंको घटस्थापनाका दिन ६५ भूकम्प प्रभावित परिवारलाई एक एकवटा नमुना घर हस्तान्तरण गर्नेछन्।
'बैशाख २९ बाट निर्माण थाल्छौँ, दसैंको घटस्थापनामा गाउँलेलाई नमुना बस्ती हस्तान्तरण गर्ने हाम्रो योजना छ', धुर्मुसले भने।
यसअघि उनीहरुले विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा काभ्रेको डाँडागाउँमा २० घर रहेको एकीकृत नमुना बस्ती बनाएका थिए। यो बस्तीमा चिटिक्कका २० घर, २० धारा र २० चर्पी छन्।
यस्तो बन्नेछ एकीकृत बस्ती
स्थान : मेलम्ची नगरपालिका ८, गिरान्चौर, सिन्धुपाल्चोक
क्षेत्रफलः १ सय रोपनी
बन्ने घरको किसिमः ट्वाइलेट बाथरुम सहित चार कोठे भूकम्प प्रतिरोधी भवन
घरको रंग : रातो, सेतो र निलो
घर संख्याः ६५
जनसंख्या संख्याः ५ सय १५
बस्तीको किसिमः एक घर, एक धारा, एक चर्पी, एक बगैँचा, बालमैत्री एवं सफा एकीकृत गाउँ साथमा एक सामुदायिक भवन।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.