-->
कठिन काम सेनालाई जिम्मा दिनुहोस्: प्रधानसेनापति

काठमाडौं—नेपाली सेनाका सेनापति राजेन्द्र क्षत्रीले सरकारले दिएको जुनसुकै जिम्मेवारीलाई दृढतापूर्वक पूरा गर्ने बताएका छन्।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत बागलुङ–मालढुङ्गादेखि टाकुरीसम्मको १४ किमी सडकको उद्घाटन गर्दै उनले देश विकासका लागि सेनाले सशक्त भूमिका खेल्ने बताए। 'सम्बन्धित निकायले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना सधैँ कटिबद्ध छ', प्रधानसेनापति क्षत्रीले भने– 'हामीसँग दक्ष जनशक्ति, स्रोतसाधन र काम गर्ने कटिबद्धता छ।'

कालिगण्डकी करिडोरमात्रै नभएर देशका अन्य विकास निर्माणका काममा नेपाली सेना खटिएको बताए। सामरिक हिसाबले महत्वपूर्ण, अन्य निकायले नसक्ने र कठिन क्षेत्रमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनसमेत उनले आग्रह गरे। 'हामीलाई नेपाल सरकार र सम्बन्धित निकायको विश्वासको खाँचो छ, हामी जस्तोसुकै दायित्व निर्वाह गर्न तयार छौं', क्षत्रीले भने 'देश विकासको काममा लाग्न पाउँदा हामीलाई गौरवको अनुभूति भइरहेको छ।'

उनले नेपालको उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको कालिगण्डकी करिडोर रणनीतिक र सामरिक हिसाबले पनि महत्वपूर्ण रहेको बताए। 'कालिगण्डकी करिडोर आर्थिक, सामाजिक, राजनीतिक हिसाबले पनि महत्वपूर्ण छ', उनले भने– 'नेपाली सेनाको अध्ययनमा यो करिडोर सामरिक र रणनीतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ।'

विकास समितिका सभापति रवीन्द्र अधिकारीले सेनाले एक वर्षको समयावधिभन्दा पहिल्यै १० महिनामै मालढुङ्गा–टाकुरी खण्ड पूरा गरेकामा प्रशंसा गरे। अधिकारीले भने, 'विकास समितिकातर्फबाट सेनालाई पूर्वाधार विकासको क्षेत्रमा लगाउने विषयमा पूर्ण सहयोग रहेनछ। हामीले बजेट अभाव हुन दिने छैनौं।'

मार्ग खोल्न बाँकी उक्त खण्डको निर्माण जिम्मा पनि सरकारले नेपाली सेनालाई दिएको छ। सेनाले यसअघि गुल्मी खण्डको ४२ किमी र म्याग्दी–मुस्ताङ खण्डको समेत काम सम्पन्न गरेको थियो।

टाकुरी–पालुङखोला २२ किमी सडकको मार्ग खोल्ने काम पूरा भए नेपाल–भारत सीमा सुनौलीदेखि चीनसँगको नाका मुस्ताङको कोरलासँग सिधा ३५३ किमी सडक पूरा हुने जनाइएको छ। समयमै बजेट निकासा भए आगामी वर्षभित्र उक्त खण्ड पूरा हुने नेपाली सेनाको कालिगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख इञ्जिनियर रेश्मीराज भट्टराईले बताए। करिडोरको बागलुङ–मालढुङ्गादेखि–टाकुरीसम्मको सडकमा आजदेखि नै सार्वजनिक यातायात सञ्चालन भएको छ । रासस 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.