काठमाडौँ । जारी संविधानमा सङ्घीयतालगायतका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धन आबद्ध दलहरुबीच नै असन्तुष्टि चुलिएको छ ।
पछिल्लो समय मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलनलाई सशक्त बनाउन गठबन्धनभित्र र बाहिरका दल, सङ्गठनसँग छलफल गर्दै आइरहेको भएपनि मुख्य गठबन्धनभित्रै असन्तुष्टि बढिरहेको छ । गठबन्धनले बोलाएको पछिल्ला बैठकमा प्रमुख घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र सद्भावना पार्टीलगायतका नेताहरु उपस्थिति नभएपछि गठबन्धन अन्योलमा परेको छ ।
यद्यपि ती दुवै दलका नेताले भने पार्टीको आन्तरिक कार्य व्यस्तताले गर्दा बैठकमा सहभागी हुन नसकेको बताएका छन् । असोजको पहिलो साता संविधानसभाबाट जारी संविधानप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको थियो ।
बुझिएअनुसार गठबन्धनप्रति असन्तुष्टि जनाउने अधिकांश तराई केन्द्रित दल छन् । उनीहरुले मोर्चाको आडमा आन्दोलन उचाइमा पुगेको र अहिले मोर्चालाई बाइपास गरेर गठबन्धनलाई प्राथमिकता दिइएको भन्दै नेताहरुले समाजवादी फोरमका अध्यक्ष यादवप्रति नै असन्तुष्टि जनाउँदै आएका छन् ।
गठबन्धनको एक घटक तमलोपाका महामन्त्री एवम् प्रवक्ता सर्वेन्द्रनाथ शुक्लले आन्दोलनको मुटु मधेसी मोर्चालाई बाइपास गरेर गठबन्धनलाई प्राथमिकता दिएकाले केही विवाद बढेको बताउनुभयो ।
“देशमा आन्दोलन खडा गरेको मधेसी मोर्चाले हो, त्यसैले यो आन्दोलनको मुटु हो सङ्घीय गठबन्धन शरीर हो, मुटुबिना शरीर कसरी चल्छ । आज पनि आन्दोलनको सशक्त ऊर्जा मोर्चामा नै छ, आन्दोलनबारे असन्तुष्टि देशभर छ भनेर गठबन्धन बनाइएको हो”उहाँले भन्नुभयो । मोर्चालाई बेवास्ता गरेर अघि बढ्दा आन्दोलन नै कमजोर हुने मोर्चाका नेताहरुको भनाइ छ ।
प्रवक्ता शुक्लले भन्नुभयो – “सबैको असन्तुष्टिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पु¥याउन गठबन्धन बनाएका हौँ । पहाडको आन्दोलन पहाडमै मधेसको आन्दोलन मधेसीले नै र राजधानी केन्द्रित आन्दोलन सबै मिलेर गर्ने गठबन्धनको मूल सूत्र यही नै हो । तर मोर्चा (मूल आधार) लाई छोडेर अघि बढ्दा आन्दोलन कमजोर हुन्छ ।”
मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको सक्रियतामा पहाड, हिमाल केन्द्रित जातीय तथा क्षेत्रीय सङ्गठनलाई समेटेर सङ्घीय गठबन्धन बनाइएको थियो । गठबन्धनमा २९ दल सहभागी छन् । करिब एक महिनाअघि उक्त गठबन्धनको पहिलो संयुक्त कार्यक्रम राजधानीमा गरिएको थियो, जहाँ गठबन्धन आबद्ध सबै दलका शीर्ष नेताहरुको सहभागिता थियो ।
सद्भावना पार्टीका महासचिव मनिस सुमनले गठबन्धनको पछिल्ला बैठकमा पार्टीको कार्यव्यस्तताले उपस्थिति जनाउन नसके पनि पछिल्लो समय गठबन्धनभित्र अन्तरसङ्घर्ष चलिरहेको स्वीकार्नु भयो ।
“गठबन्धन राम्रो हो तर मधेसी, थरुहट, लिम्बुवान, जनजाति आन्दोलनलाई निमिट्यान्न गर्ने अधिकार कसैलाई छैन, सबैको आ–आफ्नो पहिचानलाई जोगाएर अघि बढ्नुपर्छ । सङ्घीय गठबन्धन सबैको छाता सङ्गठन हो ।”
“गठबन्धनमा कुनै खटपटी आएको छैन, एकाध पार्टीका नेता राजधानीमा नहुँदा केही नकारात्मक हल्ला छाएको हो । अब सबै नेताहरु राजधानीको आन्दोलनमा केन्द्रित हुनेछन्” – उहाँले भन्नुभयो । गठबन्धनभित्र विभिन्न किसिमका टीकटिप्पणी चलिरहे पनि सङ्घीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलनलाई प्रभावकारी बनाउन लागिपरेको बताएका छन् ।
भोलि मङ्गलबारसम्म मोर्चाका शीर्ष नेताहरु काठमाडौँमा जम्मा भई गठबन्धनको बैठक बसी आवश्यक रणनीति तय गरिने बताइएको छ । हाल तमलोपाका अध्यक्ष महन्थ ठाकुर उपचारका सिलसिला भारतमा हुनुहुन्छ, फोरम अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतो भने काठमाडौँमै हुनुहुन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...