सफा छ सगरमाथा आधारशिविर
सोलुखुम्बु, जेठ ५ – सगरमाथा आधारशिविरमा यो सिजनमा हजारौको मानिस अाउने भएकाले फोहर हुने भनिएपनि आधार शिविर सफा रहेको छ । अहिले सगरमाथा चढ्ने सिजन भएको, लोत्से र नुप्से हिमालको आधार शिविर पनि एकै ठाउँ भएपनि आधारशिविर सफा रहेको छ ।
सगरमाथा आधारशिविर सफा राख्नका लागि सगरमाथा प्रर्दुशन नियन्त्रण समिति (एसपिसिसी) ले १२ जना कर्मचारी आधारशिविरमा खटाएको एसपिसिसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । आरोही र आरोहीका सहयोगी सगरमाथा आधारशिविरमा बस्दा जम्मा गरेको सबै फोहोर आरोहण सकिने लगतै एसपिसिसीले त्यहाँको फोहर नाम्चेमा झार्ने गरेको उपाध्यक्ष शेर्पाले बताउनुभयो ।
‘सगरमाथा आधारशिविरको हिँऊ पग्लेर खोलो बन्ने र त्यहि खोलाको पानी धेरैले प्रयोग गर्ने गरेकाले आधारशिविरमा दिसापिसावको लागि शौचालयको व्यवस्था गरिएको छ’ उपाध्यक्ष शेर्पाले भन्नुभयो । आरोहण सकिएपछि सगरमाथा आधारशिविरमा जम्मा भएको दिसापिसावलाई हिँऊ नपग्लिने गोरक्सेपमा ल्याएर खाल्डो खनेर पुर्ने गरेकोले वातावरणिय सरसफाई पनि राम्रो हुने एसपिसिसीको विश्वास रहेको छ ।
सगरमाथा आधारशिविरमा धेरैको उपस्थिती हुदा त्यतिकै प्रदुषित हुनुपर्ने हो । तर सगरमाथा आधार शिविर धेरै सफा रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताउनुभयो । ‘आधारशिविरको जनसंख्या हेर्दा त प्रदुषण हुनुपर्ने हो, तर प्रदुषित नभएर निकै सफा छ ।’ प्रजिअ शर्माले भन्नुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...