वेस्ट ह्याम समर्थकको बितन्डा
लन्डन–वेस्ट ह्यामको बोलेन मैदानमा भएको अन्तिम खेलअघि मंगलबार दुईजना घाइते हुनुका साथै खेल ढिलो सुरु हुने गरी म्यानचेस्टर युनाइटेडको टिम बसमा घरेलु समर्थकले क्यान तथा बोटल प्रहार गरेको घटनामाथि इङ्लिस फुटबल प्रशासनले अनुसन्धान थालेको छ ।
रंगशालानजिकै रहेका वेस्ट ह्यामका उग्र समर्थकले दर्जनौं मिसाइलका साथै स्मोक बम प्रहार गर्न थालेपछि म्यानचेस्टर युनाइटेडका खेलाडीहरू बसको फ्लोरमा सुतेर सुरक्षित हुनुपरेको थियो । पुलिसलाई अवस्था नियन्त्रण गर्न धेरैबेर लागेको थियो । पछि पुलिसले सुरक्षित सिसाको ढालले छेकेर खेलाडीलाई बसबाट सुरक्षित ठाउँमा लगेका थिए । समर्थकको उद्दण्ड व्यवहारका कारण खेल निर्धारित समयभन्दा ४५ मिनेट ढिलो सुरु भयो ।
मंगलबारको घटनाले १९८० को दशकमा इङ्लिस समर्थकले नियमित प्रदर्शन गर्ने हुल्याहा व्यवहार स्मरण गराएको थियो । जसका कारण अप्टन पार्कका नामले परिचित वेस्ट ह्यामको बोलेन मैदानको १ सय १२ वर्षे इतिहासमा हुन लागेको अन्तिम खेलको भावना छायाँमा पा¥यो । वेस्ट ह्यामले इङ्लिस फुटबलको महारथी म्यानचेस्टर युनाइटेडमाथि ३–२ को विजय पाएको खेलअघि भएको घटनाबारे अनुसन्धान थालिसकेको बुधबार इङ्लिस फुटबल संघ (एफए) तथा लन्डन पुलिसले जनाएको छ ।
खेलक्रम पनि युनाइटेडका खेलाडीले घरेलु समर्थकबाट खराब व्यवहारको सामना गरिरहनुप¥यो । डियाफ्रा साखोको गोलमा वेस्ट ह्यामले १० औं मिनेटमा अग्रता लियो । तर, दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमा एन्थोनी मार्टियलले युनाइटेडका लागि बराबरी गोल गरे । मार्सियलले विपक्षी पोस्टमा गोल गरेलगत्तै युनाइटेडका गोलकिपर डेविड डी जियामाथि घरेलु समर्थकले बोटल प्रहार गरेका थिए । दुई गोल गरेका मार्टियलले ७२ औं मिनेटमा युनाइटेडलाई २–१ ले अघि बढाए । तर, मिचेल एन्टोनियोले त्यसको चार मिनेटपछि वेस्ट ह्यामका लागि बराबरी गोल गरे भने समय सकिन ९ मिनेट बाँकी रहँदा विन्स्टन रिइडले घरेलु टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।
'बोलेन मैदान बाहिर भएको घटनाप्रति एफएको गम्भीर ध्यानाकर्षण भएको छ । एफए यो घटनाको घोर भत्र्सना गर्दछ,' एफएले विज्ञप्तिमार्फत भनेको छ, 'एफएले दुवै क्लब र लन्डन महानगरीय पुलिससँगको सहकार्यमा यो घटनाको पूर्ण छानबिन गर्नेछ । फुटबलमा यस्ता घटना कुनै पनि हालतमा स्वीकार्य हुँदैनन् ।'
मिडफिल्डर जेसे लिङ्गार्डले खेलाडीहरू विपक्षी समर्थकको आक्रमणबाट बच्न बसको फ्लोरमा सुतेको भिडियो खिचेर ट्विटरमा पोस्ट गरेका थिए । खेलाडीहरू 'मम्मी मम्मी' भन्दै कराउँदै भूइँमा सुतेको भिडियो सार्वजनिक भएको हो । क्लबको सुट लगाएका फिल जोन्स, माइकल क्यारिक र अद्नान जानुजान सिटको बीचमा सुतेको भिडियो निकै कम समयमा भाइरल बनेको थियो ।
म्यानचेस्टर युनाइटेडका कप्तान वाइन रुनीले घटनालाई लज्जाजनक भएको बताए । 'यो वेस्ट ह्यामका लागि निकै महŒवपूर्ण खेल हो भन्ने हामीलाई थाहा छ । रंगशाला छोड्नुपर्दाको पीडा उनीहरूसँग छ । तर, आफ्ना समर्थकको व्यवहारले पक्कै पनि वेस्ट ह्याम क्लबलाई निराश पारेको हुनुपर्छ,' रुनीले भने ।
दी टाइम्स पत्रिकाले त्यो घटनामाथि 'लज्जाजनक हिंसाको रात' शीर्षक राखेर समाचार छापेको छ भने गार्जियनका स्तम्भकार बर्नी रोनाएले वेस्ट ह्यामको भिड नियन्त्रणको कमजोरीप्रति आलोचना गरेका छन् । वेस्ट ह्यामका सहअध्यक्ष डेविड सुलिभानले भने चाँडो नआएकोमा युनाइेटडलाई दोष लगाउँदै बसमा कुनै क्षति नपुगेको बताएका छन् ।
'युनाइटेड ४ बजे नै किन यहाँ आइपुगेन भन्ने मेरो प्रश्न हो,' उनले बिबिसी रेडियोलाई भने, 'उनीहरू समयमा आइपुग्नुपर्ने थियो । उनीहरू अत्यन्तै व्यस्त समयमा आए । व्यस्त समयमा आएपछि समस्या भइहाल्छ । रंगशाला बाहिर बाटोमा ठूलो भिड थियो । उनीहरूको बस भित्र छिर्न सकेन । बस भिडको बीचमा थियो, तर त्यहाँ कुनै आक्रमण भएन । बसलाई राम्ररी हेर्ने हो भने त्यहाँ कुनै आक्रमण नभएको पुष्टि हुन्छ ।'
तर, उनको क्लब र क्लबका उपाध्यक्ष कारेन ब्राडीले भने घटनाको भत्र्सना गरेका छन् । 'यो घटनाप्रति क्लब बोर्ड दुःखी छ । रंगशाला बाहिर भएको घटना कुनै पनि हालतमा स्वीकार्य छैन । वेस्ट ह्याम भनेको एउटा पारिवारिक क्लब हो,' ब्राडीले भने, 'हाम्रो पुरानो रंगशालामा हुँदै गरेको बिदाइ खेललाई स्मरणीय बनाउन धेरै समर्थकको उपस्थित थिए । यस्तो अवस्थामा केहीले दुर्भाग्यजनक व्यवहार प्रदर्शन गरेका छन् । यसका लागि हामी क्षमा चाहन्छौं ।'
वेस्ट ह्यामले घटनामा संलग्न कोही समर्थक फेला परेमा उसलाई आजीवन प्रतिबन्ध लगाउने बताएको छ । 'यो एउटा असाधारण रात रह्यो । समर्थकको उपस्थिति आज असाधारण थियो । ९९ प्रतिशत समर्थकको व्यवहार राम्रो भए पनि थोरैको खराब व्यवहारका कारण क्लबको छविमा असर गरेको छ,' क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ, 'रंगशाला बाहिर समर्थकबाट राम्रो व्यवहार भएन । पाहुना टोलीको बसमाथि भएको आक्रमणले हामी लज्जित छौं । यस्तो घटना हामी कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौं । पुलिससँग सहकार्यमा हामी पनि यो घटनाको अनुसन्धान गर्नेछौं र दोषी साबित हुनेलाई आजीवन प्रतिबन्ध लगाउने छौं ।'
युनाइटेडका प्रशिक्षक लुइस भान हालको भनाइ पनि कप्तान रुनीको जस्तै थियो । 'मैले भन्नुपर्ने केही छैन । तस्बिरले सबै बोल्छ । हामीलाई स्वागत गरिएको तरिका पक्कै पनि सही थिएन,' भान हालले भने । घटनामा एक अधिकारी तथा एक समर्थक घाइते भएको तर कसैलाई पक्राउ नगरिएको पुलिसले जनाएको छ । वेस्ट ह्याम बोलेन मैदानबाट यसै सिजनको अन्त्यदेखि ओलम्पिक रंगशाला नजिकै सर्दैछ । बोलेइन मैदानमा खेलपछि क्लबको बिदाइ समारोह पनि भएको थियो ।
हारपछि युनाइटेडको आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बन्दा वेस्ट ह्यामले भने अर्को सिजनको युरोपा लिगतिर कदम बढाएको छ । सिजनको एक खेल बाँकी रहँदा युनाइटेड चौथो स्थानको म्यानचेस्टर सिटीभन्दा २ अंकले पछि परेको छ भने वेस्ट ह्यामले सातौं स्थानको साउथह्याम्पट्नलाई २ अंकले पछि पार्दै छैटौं स्थानमा उक्लिएको छ । प्रिमियर लिगको शीर्ष चारमा रहेर सिजनको अन्त्य गर्ने टोलीले आगामी सिजन च्याम्पियन्स लिग तथा पाँचौं र



0 comments
प्रतिक्रिया दिनुहोस्...