-->
सडक बनाउन माग गर्दै जलेश्वरमा प्रदर्शन

महोत्तरी– भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक खण्डमा उड्ने धुलोले सर्वसाधारणको स्वास्थ्यमै प्रत्यक्ष असर पार्न थालेपछि उक्त सडक तत्काल निर्माण गर्न दवावस्वरुप महोत्तरीका स्थानीय आन्दोलित भएका छन्।
भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक खण्ड निर्माणका लागि दवाव स्वरुप स्थानीयले 'सडक बनाउँ या फासी दिय, किस्ताबन्दीमे मृत्यु नै चाहि,' (सडक बनाउ या त फाँसी देउ, किस्ताबन्दीमा मृत्यु चाहिँदैन) नारा घन्काउँदै एक सातादेखि आन्दोलित भएका हुन्।
वैशाख १९ गते आइतबारका दिनदेखि यहाँका स्थानीयले उक्त सडकको दुरावास्थालाई सुधार गरी सडकमा उड्ने धुलोले किस्ता किस्तामा ज्यान लिँदै आएकाले कि त सडक वनाउँ कि त एकै पटक फाँसी देउ भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन्।
सडक बनाउन माग गर्दै आन्दोलित भएका स्थानीयले बैशाख १९ गते आईतबार उक्त सडक खण्डको पिपरा चौकमा , २० गते परिकौली चौक, २१ गते सोहडवा चाँदनी चोक २२ गते पर्सा पुल, २३ गते बिन्धी र २४ गते शुक्रबार जलेश्वरमा बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म १ घण्टा चक्का जाम गर्दै आएका छन्।
अभियानमा सहभागीहरुले चक्काजाम गर्ने क्रममा उक्त सडक निर्माण गर्न दवाव दिने खाले कविता वाचन, गीत गाउने र सडक निर्माणसँग सान्दर्भिक प्रबचनहरु गर्ने गरेका छन्। एक वर्षअघि पनि यहाँका स्थानीयहरुले यस्तै आन्दोलन गरेका थिए। त्यती बेला पनि चाँडै यस सडकको निर्माण हुने आश्वासन पाएका स्थानीयले एक वर्ष भइसक्दा समेत सडक निर्माणका लागि केही नहुँदा फेरी पनि आन्दोलन गर्नु परेको आन्दोलित स्थानीयहरुको भनाई छ।
'हामीलाई पटक–पटक आश्वासन मात्रै दिइन्छ, काम चाँही कहिल्यै हुँदैन,' आन्दोलनको अगुवाई गरेका स्थानीय मनोज झाले भने।
शुक्रबार जलेश्वरमा गरिएको चक्का जामको कारण जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको सम्पूर्ण सवारी ठप्प भएकोले यात्रुहरुले समस्या भोग्नु परेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.