लुम्बिनी (रुपन्देही), जेठ ५ गते । शाक्यमुनि गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागिएको २५६०औँ बुद्ध जयन्तीलाई भव्य, सभ्य र मर्यादित बनाई सफल पार्न रुपन्देहीका राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखरा तथा जिल्ला प्रशासन कार्यालय रूपन्देहीको संयुक्त आयोजनामा मङ्गलबार ‘भैरहवामा भएको बुद्ध जयन्ती र शान्तिसुरक्षा’ विषयक अन्तरक्रियामा बोल्ने राजनीतिक दलका प्रतिनिधिले बुद्ध जयन्तीलाई भव्यरुपमा सफल पार्ने प्रतिबद्धता जनाएका हुन् ।
दलका प्रमुख तथा प्रतिनीधिले बुद्ध जयन्तीलाई सफल पार्न आ–आफ्नो पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रममा स्थानीय समुदायको सहभागिता बढाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
अन्तरक्रियामा नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठले बुद्ध जयन्तीलाई सफल पार्न सबै राजनीतिक दल एक ढिक्का हुनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपानेले जिम्मेवारी दिएमा आफ्नो पार्टी बुद्ध जयन्ती सफल पार्न जस्तोसुकै काम गर्न तयार रहेको बताउँदै स्थानीयवासीलाई समेटेर अगाडि बढ्न लुम्बिनी विकास कोषलाई आग्रह गर्नुभयो ।
नयाँ शक्ति नेपाल रुपन्देहीका सयोजक देवेन्द्र पाण्डेले बुद्ध जयन्ती सफल पार्न आफ्नो पार्टीले भरपूर्ण सहयोग गर्ने जनाउँदै आगामी दिनमा हुने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी लुम्बिनीमै गर्नुपर्ने माग गर्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार शर्मा र उद्योग व्यापार सङ्गठन रूपन्देहीका महासचिव अनिल ज्ञवालीले बुद्ध जयन्ती सफल पार्न उद्योगी–व्यवसायीका तर्फबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सुरक्षाको चिन्ता नलिनु होस् ः क्षेत्रीय प्रशासक कोइराला
क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले बुद्ध जयन्तीलाई ध्यानमा राखेर लुम्बिनीको शान्तिसुरक्षा चुस्तदुरुस्त पारिएको जानकारी दिनुभयो ।
क्षेत्रीय प्रशासक कोइरालाले कार्यक्रमका लागि शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापन भरपर्दो रहेको उल्लेख गर्नुभयो । “बुद्ध जयन्तीका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाएका छौँ”, उहाँले भन्नुभयो, “सुरक्षाको विषयमा तपाईंहरु ढुक्क हुनुहोस् ।”
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्ति आउने भएकाले पनि लुम्बिनीमा आफू पटक—पटक पुगी त्यहाँको शान्तिसुरक्षालाई मजबुत पार्न लागिपरेको जनाउनुभयो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले बुद्ध जयन्तीका लागि लुम्बिनीमा भइरहेको तयारीका बारेमा जानकारी दिनुभयो । अन्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, क्षेत्रीय सुरक्षा निकायका प्रमुख, जिल्ला तथा अञ्चलका सुरक्षा निकायका प्रमुख, लुम्बिनी विकास कोषका पदाधिकारी, जिल्लाका सरकारी कार्यालयका प्रमुख, उद्योगी–व्यवसायी लगायतको उपस्थिति थियो । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...