देउवाजी र म सँगसँगै जेल जानुपर्ने दिन आउँछः दाहाल
काठमाडौं-एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले युद्धकालिन मुद्दालाई अदालती प्रक्रियावाट पुरा गर्न खोजिए कांग्रेस सभापति शेरबहादुर देउवा पनि आफुसँगै जेल जानुपर्ने बताएका छन्।
बृहत शान्ति सम्झौता र युद्धकालीन मुद्दाहरु विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले युद्धकालीन समयमा बिद्रोही पक्षको नेतृत्वकर्ता दलको हिसावले आफु र राज्यको तर्फवाट दमन गर्ने नेतृत्वको हिसावले देउवा पनि जेल जानु पर्ने दिन आउने धारणा राखे।
अध्यक्ष दाहालले तत्कालिन सुरक्षा प्रमुखहरु पनि युद्धकालिन पार्टीको एक हिस्सा भएकाले उनीहरु पनि सँगसँगै जेल जाने बताए। 'शेरबहादुरजीले त हाम्रो टाउकाको मूल्य तोक्नु भएको हो, उहाँ राज्यको तर्फवाट युद्धको एउटा पक्ष हो, हामी बिद्रोहीको तर्फवाट अर्को पक्ष हौं,' दाहालले भने, 'जुन दिन युद्धकालिन मुद्दाले म जेल जानुपर्छ, त्यो दिन शेरबहादुरजी पनि सँगसँगै जेल जानु पर्छ ।' दाहालका अनुसार बिस्तृत शान्ति सम्झौताको मुलमर्म बिपरित युद्धकालिन मुद्दालाई ब्युँताउने कोशिस भइरहेको भन्दै आपत्ति जनाए।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई नजरअन्दाज गरेर अदालती प्रक्रियावाट माओवादी शक्तिहरुलाई फसाउन लागेको पनि आरोप लगाएका छन्। 'अहिले माओवादीको बिरुद्ध अदालतलाई तयार पारिदैछ, कतिपय मुद्दा ब्युँत्याएर दिउँसै रात पार्ने काम अदालतले गर्यो,' दाहालले भने, 'युद्धकालिन मुद्दाहरु सत्यनिरुपणवाट टुंगाउनु पर्छ, अदालतवाट होइन् ।' मानव अधिकारको नाऊँमा केही ब्यक्ति बिशेषहरु माओवादीलाई सिध्याउने अभियानमा लागेको जनाउँदै दाहालले तीनको पहिचान गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...