-->
४ करोडको म्युजिकल फाउन्टेन निकल्दै महानगर

काठमाडौं— सार्क सम्मेलनका बेला विदेशी पाहुनालाई देखाउन झण्डै ४ करोड रुपैयाँ लागतमा राखिएको रानीपोखरीको म्युजिकल फाउण्टेन निकालिने भएको छ। काठमाडौं महानगरपालिकाले पोखरीको सफाइ गरेर फेरी फाउण्टेन राख्ने भन्दै निकाल्न लागेको हो।
२०७१ मंसिरमा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा आएका अति विशिष्ट पाहुनालाई सहरी सौन्दर्य देखाउन भन्दै महानगरपालिकाले फाउन्टेन निर्माण गरेको थियो। संगित र बत्तीयुक्त पानीको फोहोरा फाल्ने 'म्युजिकल फाउन्टेन' जडान गर्ने बेला पुरातत्व विभागलाई पनि सोधेको थिएन। तीन करोड ७० लाख रुपैया लागतमा पोखरीभित्र यस्ता सामाग्री जडान गरेको थियो ।
ऐतिहासिक पोखरीको चारैकुनमा पानीका फोहोरा जडान गरेको महानगरपालिकाले हिलो सफाइ गर्न भन्दै फाउन्टेन झिक्ने जनाएकाे हाे। 'पोखरीमा रहेको हिलो सफा गरेर फेरी फाउन्टेन गाड्ने हो,' महानगरपालिका प्रमुख तथा कार्यकारी प्रमुख रुद्रसिंह तामाङले नागरिकसँग भने, 'आज (सोमबार) प्राविधिक टोली आएको छ। टोलीले काम थाल्छ।'
उनका अनुसार अबको ४ महिनाभित्र फेरि फाउन्टेन जडान गरिनेछ। करिब एक वर्षयता रानीपाेखरीभित्र रहेकाे साे फाउन्टेन बन्द थियाे। भूकम्पले क्षतिग्रस्त पोखरीको बीचको मन्दिर पुननिर्माणको लागि पनि उक्त कार्य भएको महानगरपालिकाले जनाएको छ। माघ २ गते सरकारले रानीपोखरीबाट सम्पदा पुनः निर्माणको थालनी गरेपनि अहिलेसम्म स्थलगत काम हुन सकेको थिएन।
भूकम्पले क्षति भएको पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पूननिर्माणसँगै महानगरपालिकाले करिब ११ करोड रुपैया लगानीमा रानीपोखरीको सौन्दर्यकरण गर्ने तयारी छ ।
मुख्य रुपमा पर्यटकलाई केन्दीत गरेर आउदो तिहाससम्म सौन्दर्यकरण सक्काउने तयारी अनुरुप महानगरपालिकाले जनाएको छ। सौन्दर्यकरणमा पोखरीको सफाइ, हरियाली बगैचा, उज्यालोको व्यवस्था पनि हुनेछ ।
आफ्ना माइला छोराको मृत्युपछि राजा प्रताप मल्लले शोकाकुल रानीलाई खुसी तुल्याउने उद्देश्यले इस १६६५ मा रानी पोखरी निर्माण गरेको इतिहास छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.