अब कञ्चनपुरका सबै कार्यालय सीसीटीभीको निगरानीमा
महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कञ्चनपुरका सबै सरकारी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गर्न परिपत्र गरेको छ । सामान्य प्रशासन मन्त्रालयबाट गृहमन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पुगेको निर्देशन बमोजिम सबै सरकारी कार्यालयमा परिपत्र गरिएको हो ।
कार्यालयको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गर्नु आवश्यक भएकाले त्यसको लागि बन्दोबस्त मिलाउन परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत शिवदत्त अवस्थीले बताए । ‘गृहमन्त्रालयबाट सबै सरकारी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गर्ने व्यवस्था मिलाउनु भनेर पत्र आएकाले पत्राचार गरिएको हो,’ प्रशासकीय अधिकृत शिवदत्त अवस्थीले भने ।
जिल्ला प्रशासन कार्यालयले परिपत्र गरेपनि चालु आर्थिक वर्षभित्र सबै सरकारी कार्यालयमा सिसिटिभी क्यामेरा जडानको काम नहुने भएको छ । सिसिटिभी क्यामेरा जडानका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रम नभएकाले क्यामेरा जडान गर्न नसकिने सरकारी कार्यालयले जनाएका छन् । ‘सिसिटिभी क्यामेरा जडान गर्न आवश्यक पर्ने बजेट व्यवस्था नभएकाले चालु वर्षभित्रै क्यामेरा जडान गर्न गाह्रो छ,’ जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भने, ‘आगामी आर्थिक वर्षमा सिसिटिभी क्यामेरा जडान गर्ने कार्यलाई कार्यक्रममा समावेश गर्न विभागमा आग्रह गरिने छ ।’
आगामी आर्थिक वर्षको कार्यक्रममा सिसिटिभी क्यामेरा जडान गर्ने कार्यलाई समावेश गरेर सिसिटिभी क्यामेरा जडान गर्न सकिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । ‘चालु आर्थिक वर्षभित्रै क्यामेरा जडान गर्नैपर्ने भन्ने होइन, कारवाही पनि हुने होइन,’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत शिवदत्त अवस्थीले भने, ‘आगामी आर्थिक वर्षको कार्यक्रममा समावेश गरेर सिसिटिभी क्यामेरा जडान गर्न सकिन्छ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...