सुदूरपश्चिममा प्राविधिक शिक्षामा आकर्षण बढ्दै
भवानी ऐर
कैलाली, बैशाख २६ गते । प्राविधिक तथा व्यबसायिक शिक्षाप्रति पछिल्लो समयमा आकर्षण बढ्दै गएसँगै सुदूरपश्चिममा पनि प्राविधिक शिक्षालय थपिदै गएका छन् । गत वर्ष १२ विद्यालयले अनुमति पाएर अध्यापन सुरु गरेको सुदूरपश्चिममा यस शैक्षिक शत्रदेखि थप नौवटा सामुदायिक विद्यालयहरुले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्न अनुमति प्राप्त गरेका छन् ।
शिक्षा विभाग केन्द्रीय निर्देशक समितिको निर्णय अनुसार शैक्षिक सत्र २०७३ देखि सुदूरपश्चिमका बिभिन्न नौवटा सामुदायिक विद्यालयहरुले कक्षा ९ देखि पठनपाठनको अनुमति पाएका हुन् । कैलालीबाट सिभिलतर्फ कर्णाली मावि टीकापुर र धनगढी उमावि धनगढीले अनुमती पश्चात अध्यापन सुरु गरेका छन् भने अछामबाट वाली विज्ञानतर्फ सुर्यचन्द्र उमावि सानपा र प्रभाधम्कोट उमावि सानपाले अध्यापन सुरु गरेका छन् ।
यस्तै बझाङबाट कम्प्युटरतर्फ शिक्षोदय उमावि बागथलाले अनुमती पाएको हो । डोटीमा बाली विज्ञानतर्फ सीताराम उमावि उच्चकोटले अनुमतीपश्चात् अध्यापन सुरु गरेको छ भने सिभिलतर्फ दिल्पेश्वर उमावि दिपायलले अध्यापन कार्य सुरु गरेको छ । कञ्चनपुर भने वाली विज्ञानतर्फ शान्ती उमावि शान्तिपुर र कम्प्युटरतर्फ वैजनाथ उमावि जडेपानीले अनुमती पाएको क्षेत्रीय शिक्षा निर्देशनालय दिपायलले जनाएको छ ।
पछिल्लो समय यस क्षेत्रमा प्राविधिक तथा व्यावसायिक शिक्षाप्रतिको आकर्षण बढेसंगै अध्ययन गर्न चाहनेहरुको संख्या पनि बढ्दै गएकोले शिक्षालय थपिदै गएको बालकल्याण उमाविका विधालय व्यबस्थापनका अध्यक्ष धनवहादुर साउँदले बताउनुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...