-->
म्यानचेस्टरको संभावना जीवित

नर्विच-हुँवा माटाको गोल मद्धतमा म्यानचेस्टर युनाइटेडले शनिबार नर्विच सिटीलाई १–० ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको शीर्ष ४ मा रहने सम्भावना जीवित राखेको छ । यता घरेलु मैदानमा बेहोरेको हारसँगै नर्विच सिटीको प्रिमियर लिगमा कायम रहने सम्भावना कमजोर बनेकोछ । क्यारो रोडमासम्पन्न खेलमा माटाले ७२औं मिनेटमा गरेको गोलमा भ्रमणकारी टोलीले अग्रता लिएको थियो । वाइन रुनीको पासलाई माटाले गोलको दिशा दिएका थिए।
जितसँगै युनाइटेड ६४ अंकसाथ पाँचौं स्थानमा रहेको छ । जुन चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा १ अंक र तेस्रो स्थानको आर्सनलभन्दा ४ अंकले मात्र कम हो । सिटी आइतबार आर्सनल भ्रमणमा निस्कनेछ । 'हामीलाई जित आवश्यक थियो र त्यो पूरा भयो पनि । बाँकी खेल पनि जित्नु आवश्यक छ । त्यसका साथै सिटी र आर्सनलबीचको नतिजा हेर्नुपर्नेछ,' स्पेनिस मिडफिल्डर माटाले भने, 'हामीले पूरै खेल नियन्त्रणमा राख्दै थुप्रै गोल अवसर सिर्जना गरेका थियौं । हामी समर्थकका लागि सबथोक गर्न तयार छौं । सिजनमा उचारचढाव आए तर सुखद अन्त्य हुनपर्छ ।'
लगातार चार खेल हारेपछि नर्विचका लागि परिस्थिति कठिन बनेको छ । चारै खेलमा गोल पनि गर्न नसक्दा नर्विचको संकट झन गहिरिएको छ । नर्विचले लिगमा पछिल्लो १६ मध्ये २ खेलमात्र जितेको छ भने १२ मा हार बेहोरेको छ । 'हामीले गोलका अवसर सिर्जना गर्न सकेनौं । हामीले युनाइटेडलाई कठिन प्रतिद्वन्द्वीमा लियौं,' नर्विचका प्रशिक्षक एलेक्स नेलले भने, 'महŒवपूर्ण खेलमा गल्ती गर्दै गोल उपहार दिएपछि केही उपाय लाग्दैन । हामीले गल्ती गर्न रोक्नुपर्छ तर अब धेरै ढिला भइसक्यो । संघर्ष भने कायम छ ।'
नर्विचले अब वाट्फोर्डसँग घरेलु मैदानमा खेल्नेछ भने त्यसपछि एभर्टन भ्रमणमा निस्कनेछ । यता एफए कपको फाइनल पुगेको युनाइटेडले अब वेस्टह्याम र बर्नमाउथसँग खेल्नेछ । युनाइटेडलाई खेल सुरु हुनुपूर्व नै धक्का लागेको थियो । खेलअघिको वार्मअप गर्नेक्रममा १५ गोल गरिसकेका फरवार्ड एन्थोनी मार्टियल घाइते भएका थिए । उनको स्थान एन्डर हरेराले लिए । परिवर्तन गरिएको फर्मेसन (४–२–३–१)मा रुनीले अग्रपंक्तिको नेतृत्व गरेका थिए ।तर, पछिल्लो ७ मध्ये १ मा मात्र जित निकालेको घरेलु टोलीले युनाइटेडको दबाब तोड्न सकेन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.