सिन्धुपाल्चोकको टेन्ट अस्पताल पुगेपछि यसरी भावुक भए राष्ट्र संघका नायब महासचिव
एलियासन
सिन्धुपाल्चोक- चर्को घामले टेन्ट अस्पताल तातिएको छ । भूकम्पले भवनमा क्षती गरेपछि बिरामी, डाक्टर, स्वास्थ्यकर्मी तथा कुरुवा त्यही तातेको टेन्टमा छन् । तातोले बाफिएको टेन्टमा बस्न नसकेपछि केही बिरामी तथा कुरुवा बाहिर शितलमा बसेका छन् भने केही बिरामी भित्रै सुतिरहेका छन् ।
भूकम्पबाट क्षतीग्रस्त सिन्धुपाल्चोकको अवलोकनका लागि पुगेका संयूक्त राष्ट्र संघका नायब महासचिव जान एलियासन अस्पतालको अवस्था र बिरामीको समस्या देखेपछि एकाएक भावुक भए । टेन्ट अस्पतालमा पिडा सहँदै उपचार गराइरहेका बिरामी र अस्पतालको वातावरणलाई गहिरोसँग नियाले ।
भावुक हुँदै उनले भने ‘वास्तवमै तपाईहरु पिडामा हुनुहुन्छ । तर नआत्तिनुहोस् तपाईहरु एक्लै हुनुहुन्न । तपाईहरुसँग हामी सबै छौँ ।’ उनले टेन्ट अस्पतालमा दुःखसँग लडिरहेका सबै बिरामीलाई एकएक गर्दै सञ्चोबिसञ्चो सोधे ।
सबैलाई उनले ‘छिट्टै स्वास्थ्य लाभ गरी घर फर्कँनु होला’ भन्दै हिँडे । नमास्कार गर्दै सबैलाई आदार प्रकट गरिरहेका एलियासनले ‘दुःखेको मनलाई विश्वासले जित्नुहोस’ भनिरहँदा निकै भावुक बनेका थिए । बिरामीको हात समाउँदै सान्तवनाको स्वरमा उनले भने, ‘तपाईँहरुलाई जति दुःख अरुलाई छैन । तपाईहरुले भोगिरहेको दुःख म फर्केर पहिलो पटक मेरो परिवारलाई भन्नेछु । साथै अस्पतालको सुधार र समस्या समाधानका लागि पहल गर्नेछु ।’
महासचिव एलियासनले आफ्ना तीन सन्तान र आठ नातिनातिना रहेको सुनाउँदै उनीहरुले तपाईहरुको समस्या बुझ्न जरुरी रहेको बताउँदै घर फर्केपछि पनि तपाईहरुको स्वास्थ्यका बारेमा जानकारी लिइरहने बताएपछि बिरामीहरुको मुहारमा खुसी छाएको थियो । झ्न उनले आफू फर्केपछि अस्पताल तथा सिन्धुपाल्चोकका लागि सकारात्मक सन्देश पठाउने जानकारी दिएपछि बिरामीहरुको मुहारमा चमक छाएको थियो ।
भत्केर त्रिपाल र टेन्ट अस्पतालमा खानेपानीको समस्याका विषयमा उनले गहिरो चासो व्यक्त गरे । उनले अस्पताल पूर्ण रुपमा सुरक्षित, सफासुग्घर र बिरामीमैत्री हुनुपर्नेमा जोड दिँदै अस्पतालको पूननिर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । लामो समयको बसाइका क्रममा उनले पटक पटक बिरामीको आँशुलाई हाँसोमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिइरहे ।
महासचिब एलियासनलाई अस्पतालकी चिकित्सक डा. सविना पराजुलीले भूकम्प लगत्तैको कठिन परिस्थितीमा पनि डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले भोकप्यास नभनि दिनरात सेवा दिएको जानकारी गराइँन । उनले जस्तोसुकै विसमपरिस्थितीमा पनि स्वास्थ्य सेवा दिन कुनै कञ्जुस्याँई नगरेको बताइन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का आकस्मिक जिल्ला सहयोग अधिकृत डा. शुभाष न्यौपानेले भवन बन्न समय लाग्ने देखिएपछि नजिकिँदै गएको वर्षालाई ध्यान दिँदै टेन्टलाई बलियो बनाउन टेन्टमाथि त्रिपाल राख्ने काम अगाडी बढाइएको जानकारी गराए । ‘बिरामीलाई समस्या नपरोस भनेर बलियो बनाउने प्रयास गरिएको हो,’ उनले भने, ‘यस्ले यसपालिको वर्षा थेग्छ भन्ने विश्वास लिएका छौँ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...