-->
अवैध काठसहित दुई पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रबाट ट्र्याक्टरको ट्रलीमा अवैधरुपमा लुकाइछिपाइ लैजाँदै गरेको ४५ क्युफिट सालको काठसहित सोमबार दुई जनालाई इलाका वन कार्यालय बेदकोटको टोलीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा बेदकोट नगरपालिकाका गणेश पातली र कर्ण खड्कालाई चिरान गरिएको काठसहित पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले बताउनुभयो ।
“ट्र्याक्टरको ट्रलीमा मुनि काठ राखी ढुङ्गा बालुवाले छोपेर लैजाँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेका छौँ” उहाँले भन्नुभयो ।
अवैधरुपमा काठ बोक्न प्रयोग भएको से १ प १२८९१ नम्बरको ट्र्याक्टरसमेत नियन्त्रण लिएको उहाँले जानकारी दिनुभयो । बरामद काठबारे अनुसन्धान गर्नका लागि बेदकोट इलाका वन कार्यालयका रेन्जरको संयोजकत्वमा टोली गठन गरिएको उहाँले बताउनुभयो ।
यसैगरी, कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको टोटी फुलेली रेञ्जपोस्टको टोलीलेसमेत ट्रलीमा लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा गत महिना ठूलो परिणाममा काठ बरामद गरेको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.