-->
मधेस समस्याको समाधान संवादबाट गर्न पूर्वराष्ट्रपतिको सल्लाह

जेष्ठ १४, २०७३- पूर्वराष्ट्रपति डा.रामवरण यादवले मधेस समस्याको समाधान संवादबाटै गर्नु पर्ने सल्लाह दिएका छन् ।


 
राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा मध्य धनुषाको बघचौडास्थित उच्च माध्यमिक विद्यालयमा आयोजित ‘पूर्वराष्ट्रपति तथा स्थानीय विद्यार्थीहरु बीचको अन्तर्क्रिया’ मा उनले भने, ‘मुलुकमा विद्यमान सम्पूर्ण समस्याको समाधान राजनीतिक दलहरु आपसमा मिलेर गर्नु पर्दछ । मधेस समस्याको समाधान पनि संवादबाटै हुनुपर्दछ ।’
 
लोकतन्त्र बलियो भए, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका सम्पूर्ण क्षेत्रमा विकास हुने विश्वास व्यक्त गर्दै उनले छोरीमाथि हुने विभेद अन्त्य गर्न अध्ययनरत छात्र छात्रा तथा अभिभावकहरुसंग अपिल गरे । उनले भने, ‘छोरा र छोरीमा हुने विभेद, बालविवाह, दाइजो मधेसको मात्र होइन सिंगै मुलुकको समस्या हो । यसलाई अन्त्य गर्न समाजका सम्पूर्ण वर्गको सहयोग आवश्यक छ ।
 
विद्यार्थीहरुलाई शिक्षासँगै संस्कार पनि दिनु पर्ने सल्लाह दिदै उनले सामाजिक समस्याहरुको समाधान जनचेतना जगाएर मात्र हुने भएकोले शिक्षक तथा विद्यार्थीहरुलाई यस कार्यमा लाग्न अपिल गरे ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं साहित्यकार रामभरोस कापडी ‘भ्रमर’को अध्यक्षतामा भएको अन्तर सम्वाद कार्यक्रममा विद्यालयलका छात्र–छात्राहरुले पूर्वराष्ट्रपतिसँग आफ्नो मातृभाषा मैथिलीमा खुलेर प्रश्न राखेका थिए भने पूर्वराष्ट्रपति यादवले पनि विद्यार्थीहरुको जिज्ञासालाई ठट्यौली शैलीमा शान्त गर्ने प्रयास गरेका थिए ।
 
संविधान निर्माण पश्चात् मुलुकमा विकासको बाटो खुलेको उल्लेख गर्दै उनले विकास निर्माणको कार्यलाई गति दिन तथा स्तरीय बनाउन स्थानीयवासीको सकृय सहभागिता तथा इमान्दारिता आवश्यक रहेको औल्याएकाथिए ।
 
कार्यक्रमलाई पूर्वराष्ट्रपति यादवसँगै धनुषा क्षेत्र नम्बर २ का सांसद रामकृष्ण यादव, राजनीतिक विश्लेषणक कृष्ण खनाल, राष्ट्रपतिका पूर्व सल्लाहकार राजेन्द्र दाहाल, विजय कुसियैत लगायतका वक्ताहरुले पनि सम्वोधन गरेका थिए ।
 
उक्त अवसरमा पूर्वराष्ट्रपति यादवले विद्यालयमा निर्माण हुने नयाँ भवनको शिलान्यास समेत गरेका छन् । भवनका निर्माणका लागि जिल्ला शिक्षा कार्यालय धनुषाले ३२ लाख बजेट छुट्याइएको व्यवस्थापन समितिका अध्यक्ष रामभरोस कापडिले जानकारी दिए ।
 
गत एक सातादेखि आफ्नो पुस्तैनी गाउँ सपहीमा रहेका पूर्वराष्ट्रपति यादव गणतन्त्र दिवसको अवसरमा बघचौडा उच्च माविमा आयोजित कार्यक्रममाा सहभागी हुँदा स्कूले बालबालिकासँगै यस भेगकै सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.