१० माओवादी घटकबीचको एकीकरणपछि माओवादी केन्द्रको घोषणा
जेष्ठ ६, २०७३- एकीकृत माओवादी सहित १० माओवादी घटकहरुबीचको एकता घोषणा बिहीबार गरिएको छ । एकतापछि पार्टीको नाम 'नेकपा माओवादी केन्द्र' राखिएको छ ।
बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले १० घटकबीचको एकतापछि नयाँ पार्टी निर्माण भएको घोषणा गरे । नयाँ पार्टी भनिएको केन्द्रको अध्यक्ष दाहाल नै छन् ।
सभामा बोल्दै दाहालले माओवादीको पराजयको दिन अब सकिएको बताए । 'यो माओवादीबीचको एकता मात्र होइन, नयाँ खालको राष्ट्रिय एकता हो,' उनले भने 'सबै उत्पिडीत र शोषीत वर्गबीचको नयाँ एकता भएको छ ।'
उनले आफ्नै नेतृत्वमा युद्ध गरेर निर्णायक शक्ति बनेको र पछि विभाजित समेत भएकाले आफूले नै एकताको पहल लिएको उनको भनाई थियो । उनले मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई पनि एकता अभियानमा आउन आग्रह गरे ।
उनले सामन्तवाद विरुद्ध माओवादीले राजनीतिक क्रान्ति सफल पारेपनि त्यसका अवशेषहरु अझै बाँकी रहेकाले नयाँ जनवादी क्रान्तिको सार तत्व भएको पूँजीवादी जनवादी क्रान्ति सफल पार्दै समाजवादी क्रान्तिको तयारीको नव गठित पार्टीको निर्णय सुनाए ।
अहिलेपनि राज्यका सञ्चालकहरुमा समान्ती, उच्च जातीय अहंकार र उपनिवेशको झल्को देखिने गरेको भन्दै उनले त्यस प्रवृति विरुद्ध लड्ने बताए ।
कार्यक्रममा एकता प्रक्रियामा सक्रिय सहभागी रहेका अर्का माओवादी नेता रामबहादुर थापा बादललेपनि एकतापछि नयाँ पार्टीको निर्माण भएको बताए । मातृका यादव नेतृत्वको नेकपा-माओवादी), मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी देखि बाबुराम भट्टराईको नयाँ शक्ति नेपालबाट समेत केही नेताहरु एकीकरणमा आएका छन् ।
नयाँ पार्टीको उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, महासचिवमा रामबहादुर थापा, उपमहासचिवमा कृष्णबहादुर महरा रहने छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...