-->
गर्नेलाई के कमी - प्राकृतिक तालमा माछापालनबाट वार्षिक रु छ लाख आय

कञ्चनपुर, जेठ ६ गते । प्राकृतिक ताल भाडामा लिएर कञ्चनपुरको रैकवार बिचवा गाविस–७ राजघाटका पदम सुनारले वार्षिकरुपमा रु छ लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

वनदेवी सामुदायिक वनको सात बिगाहा क्षेत्रफलमा रहेको टुप्पा ताललाई वार्षिक रु ४० हजार २५० रकम तिरेर उहाँले माछापालन गर्दै आउनुभएको छ ।

दुई वर्षअघि पाँच वर्षसम्मका लागि ताललाई भाडामा लिएर माछापालन गर्दै आएको सुनारले बताउनुभयो । तालमा ग्रासकार्प, कमन, रोहु, नैनी, भाकुर, सिल्भर र विगेट जातका माछा पालिएका छन् ।

आफन्तबाट कर्जा लिएर ताल लिजमा लिएका सुनारले कर्जा चुक्ता गरी माछा बेचेको आम्दानीले मोटरसाइकल खरिदसँगै छ जना बालबालिका पढाइ र घर खर्च चलाउँदै आएका छन् ।

तालमा उत्पादित माछा कैलालीको अत्तरिया र कञ्चनपुरको गुलरिया बजारमा बिक्री हुने गरेका छन् । तालबाट वार्षिकरुपमा २० क्विन्टल भन्दा बढी माछा उत्पादन हुने गरेको छ ।

“तालमा बर्सेनि एकनासको पानी नहुँदा माछा मरेर नोक्सानी व्यहोर्नु पर्ने अवस्थासमेत रहेको छ” – उहाँले भन्नुभयो । उहाँका अनुसार तालमा एकनासको पानी राख्न बोरिङको आवश्यकता छ ।

ताल व्यवस्थापनका लागि सामुदायिक वनको समन्वयमा पश्चिम तराई भूपरिधि कार्यक्रमअन्तर्गत रु छ लाखको लागतमा तालमा माछापालनका लागि व्यवस्थापनको कार्य समेत गरिएको छ ।

सुनारले प्राकृतिक तालसँगै आफूसँग रहेको खेतमा खाल्डोण् खनेर माछापालनका लागि दुई वटा पोखरी समेत निर्माण गरेका छन् । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.