बसन्त गिरी, कपिलवस्तु , जेठ १० गते । कृष्णनगर भन्सार कार्यालयको चरम लापरवाहीका कारण भारत तर्फ भाग्दै गरेको एक ट्रक प्रहरीले पक्राउ गरेको छ ।
अदुवा लिएर भारत जादै गरेको ना ५ ख ८८९५ नम्बरको ट्रक भन्सार नगराई सिधै भारत छिर्ने क्रममा अस्थायी प्रहरी पोष्ट सुरक्ष जाँच चौकी कृष्णनगरले विहान ९ बजे पक्राउ गरेको थियो । प्लान्ट क्वारेन्टाईन जाँच पास, निर्यात भन्सार प्रक्रिया पुरा गरेर जानु पर्नेमा ट्रक सिधै भारत तर्फ जाँदा प्रहरी नायब निरिक्षक रमेश गुरुङ्गको कमाण्डको टोलीले दशगजा क्षेत्रबाट समातेको थियो ।
विना भन्सार प्रक्रिया पुरा नै नगरि भन्सार कर्मचारीले ट्रकलाई उन्मुक्ति दिएको प्रहरीको आरोप छ । जिल्ला प्रहरी कार्यालय प्रहरी उपरिक्षक विष्णु कुमार केसीले भन्सार प्रक्रिया र प्लान्ट क्वारेन्टाई नै नगरि राजस्व नबुझी एकाएक सिधै भारतमा पठाउनु भन्सार कर्मचारीको चरम लापरवाही भएको बताउनुभयो । “करिब ४ सय क्वीन्टल अदुवा बोकेको ट्रक भन्सार गेटबाट सिधै भारत छिर्नु ठूलो कमजोरी हो” उहाले भन्नुभयो ।
हेटौडाबाट कृष्णनगर स्थित शाहदीनी सब्जी पसलको नाउमा आएको रसिद अनुसार उक्त माल नेपाली व्यापारीकै देखिन्छ । हेटौडाको लम्साल सप्लायर्सले पठाएको अदुवा भारत लैजानका लागि गरिने कुनै प्रक्रिया पुरा भएको थिएन । ट्रक चालक दिनेश थिङ्गले भन्सार कर्मचारीले आफुलाई सरासर जान भनेको हुदा आफु गएको बताउनुभयो । ट्रक भन्सार नहुन्जेल सम्म र प्लान्ट क्वारेन्टाईन जाँच पास बिना भन्सार नगर्ने प्रावधान छ ।
भन्सार कर्मचारीहरुले विना कागजपत्र गाडीलाई क्लिन चिट दिएर पठाएको प्रहरी नायब निरिक्षक रमेश गुरुङ्ग बताउनुहुन्छ । पक्राउ गरिएको ट्रक आवश्यक प्रक्रिया मिलाई बुटवल स्थित राजस्व तथा अनुसन्धान कार्यालयमा बुझाउन जाने क्रममा भन्सार कर्मचारीले प्रहरी र ट्रकलाई अवरोध गरेपछि केहि बेर तनावको अवस्था सिर्जना भएको थियो । भन्सार प्रमुख धु्रव विश्वकर्माले प्रहरी तथा ट्रक रोकेपछि प्रहरी उपरिक्षक केसी र विश्वकर्मा बिच विवाद समेत भएको श्रोतले जनाएको छ । भन्सार नै नभएको गाडीमा भन्सारको अधिकार नलाग्ने भन्दै प्रहरीले अदुवा सहितको ट्रक राजश्व कार्यालयलाई बुझाएको छ ।
यस सम्बन्धमा कृष्णनगर भन्सार कार्यालयले रेडिमेड प्रतिक्रिया दिएको छ । भन्सार प्रमुख विश्वकर्माले यसबारे आफुहरुलाई कुनै जानकारी नभएको बताउनुभयो । घटनाबारे आफुहरुले आवश्यक छानबिन गर्ने मात्र विश्वकर्माले जानकारी दिनुभयो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...