-->
किन पछि हटे दाहाल ?

वैशाख २३, २०७३- कांग्रेसले प्रधानमन्त्रीका लागि समर्थन गर्ने वचन दिएपछि हौसिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक हच्किएका छन् । दाहालको नेतृत्वमा सरकार बनाउन कांग्रेसले मधेसी दललाई समेत विश्वासमा लिइसकेपछि विकसित अर्को राजनीतिक घटना क्रमले दाहाललाई पछाडि हट्न बाध्य पारेको हो ।

एमालेले एमाओवादीका चासोका बिषय, बजेटपछि दाहालको नेतृत्वमा सरकार, सत्य निरुपण, बेपत्ता छानविन, पुननिर्माण र सरकार संचालनसम्बन्धी असन्तुष्टिलाई लिखित रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि उनी यही सरकारलाई निरन्तरता दिने निश्कर्षमा पुगेका हु्न् ।

‘एमालेले लिखितरुपमै हाम्रा प्रतिबद्धता व्यक्त गर्ने बताएकाले किन सत्ताको मोह बढी देखाउने भन्ने महसुस भयो,’ एमाओवादीका एक नेताले कान्तिपुरसँग भने, ‘एमाले, एमाओवादीको नीति अनुसार बजेट ल्याई अघि बढ्ने कुरामा समझदारी बन्दैछ ।’ कांग्रेस एमाओवादीको नेतृत्व दिएर भए पनि एमालेको ‘लोकप्रिय’ बजेट ल्याउन नदिने रणनीति अघि सारेको थियो ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो दलको नेतृत्वमा सरकार बनाउन एमालेसमेत सकरात्मक भएको उल्लेख गर्दै छलफल जारी रहेको बताए । ‘कांग्रेस हाम्रो दलको नतृत्व सरकार बनाउन सहमत भएको हो, एमालेले यसमा सहमत जनाएको छ’ उनले भने, ‘छलफल हुँदैछ, बेलुकासम्म के गर्ने भन्ने टुंगो लाग्ने छ ।’

कांग्रेसले दाहालको नेतृत्वमा सकार बनाउने वचन दिएलगत्तै हतारहतार केन्द्रीय पदाधिकारी बैठकले एमाले सरकारको विकल्प फेर्ने निर्णय गरेको थियो । एमाओवादीको निर्णयलाई धेरैले ‘हतारमा लतार’ को संज्ञा दिएका थिए । एमाओवादी आफ्नो निर्णयमा २४ घण्टा नटिकेपछि दाहालमाथि प्रश्नैप्रश्नै उठेका छन् ।

एमाओवादीको निर्णय लगत्तै एमालेले आफ्नो सरकारको नेतृत्वमा बजेट ल्याउन दिन आग्रह गरेको थियो । बजेट ल्याएपछि एमाओवादीको नेतृत्वमा सरकार बनाउने समझदारी बन्दैछ । यसले दाहालका लागि बजेट अघि प्रधानमन्त्री बन्ने कि बजेट पछि भन्ने अन्यौल देखिएको छ । एमालेले बजेटपछि दाहाललाई प्रधानमन्त्री बनाउन प्रतिवद्धता व्यक्त गरेकाले दाहालले ‘त्यसो भए, यही कम्युनिस्टको सरकारलार्इं निरन्ता दिने’ मनस्थितिमा पुगेको स्रोतले जनाएको छ ।

‘ओली सरकार ढालेर सरकारको नेतृत्वमा जानुभन्दा आफ्नो अनुकूल बजेट ल्याएर नेतृत्व लिनु उपयुक्त देखियो,’ एक नेताको भनाइ छ । एमाओवादीको समर्थनमा बनेको ओली सरकार गिराएर प्रधानमन्त्री पदका लागि बजेट अवरुद्ध गर्ने कार्य गलत हुने बिश्लेषण एमाओवादीभित्र हुन थाल्यो ।

एमाले सरकार ढाल्ने मुख्य निर्णयको एमाओवादीभित्र अन्तुष्टि थियो । तर पनि दाहाल प्रधानमन्त्री हुन बजेट अघि ओली सरकार गिराउने रणनीतिमा लागेका  थिए । कांग्रेस सभापति शेरबहादुर देउवा दिल्लीबाट फर्केपछि भएको राजनीतिक घटनाक्रमको विकासले प्रधानमन्त्रीका लागि दाहाल तयार भएका थिए ।

अर्कोतर्फ भारतीय नीतिको विरोधमा रहँदै आएका दाहाल एकाएक कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने चर्चाले उनको बोली ब्यबहारमा फरक देखिएको थियो । पार्टीभित्र र बाहिरबाट दाहाललाई ‘भारतको योजनामा प्रधानन्त्री बन्न लागेको हो ?’ भन्ने प्रश्न उठ्न थालेको सन्दर्भमा एमालेले लिखित रुपमा दाहालकै नेतृत्वमा अर्को सरकार बनाउने वचन दिएपछि उनी पछि हटे ।

सत्य निरुपणको बिषयमा एमामाओवादीप्रति एमालेले कडा नीति लिँदै आएकोमा आगामी दिनमा त्यसलाई आपसी समझदारी गरी अघि बढ्ने दुई दलबीच छलफल हुदैछ । यसमा कांग्रेस र एमाओवादीको सुझबुझ नजिक थियो । सशस्त्र युद्धका बेला सत्ता संचालन गरेको कांग्रेस र बिद्रोही माओवादीबाट भएका घटनामा सत्य निरुपण आयोगले छानविन सुरु गरेपछि बिशेषगरी एमाओवादी सशंकित भएको थियो ।

सत्य निरुपणका बिषयमा कांग्रेस सभापति देउवा चनाखो हँुदै आएका छन् । कांग्रेस, एमाओवादीको पछिल्लो गठबन्धनको तयारी पनि योसँगै जोडेर भएको थियो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.