कोदो रोप्दा जन्मेको छोरो, हुर्किंदैछ गहुँ काट्ने बेलामा
हामी दोलखा कालिन्चोकको स्वास्थ्यचौकी जाँदै थियो । बाटैमुनिको बारीमा देखियो यो दृश्य । हामीलाई नौला मान्छे ठानेर बालकले एकटक हे¥यो । हामीले पनि हे¥यौं उसलाई ।
भेट्न मन लागेर हामी बारीतिरै ओर्लियौं । कुकुरले हामीलाई देखिसहेन । पूरै आक्रोशित भयो ।
गहुँ काटिरहेकी देवी थामीले उँभो हेरिन् । दुई जना नौला मान्छे आफैंतिर आइरहेका देखिन् । कुकुरले बाटो अवरोध गरिरहेको थाहा पाइन् । कुकुरलाई आफूतिर बोलाउँदै भनिन्, ‘सर आऊ आऊ, कुकुरले टोक्नुहुन्न ।’
तैपनि हामी डरायौं । उनले दोहो¥याइन्, ‘डर नमानी आइजा सर, हाम्रो कुकुरले भुक्नुमात्रै हुन्छ । टोक्नुहुन्न ।’
सधैं थामी भाषामा संवाद गरिरहेकी उनीबाट मानक नेपाली भाषाको अपेक्षा गर्न जरुरी थिएन । तैपनि उनको बोल्ने शैली नयाँ लागेर हामीले एकअर्कालाई हे¥यौं ।
उनले ‘कुकुरले टोक्नुहुन्न’ भने पनि हामीलाई देखिसहेन । वरिपरि घुम्न थाल्यो । डरले हामी थरथर थियौं, नौमहिने बालक कुकुर भुकेको र हामी डराएको हेरेर रमायो ।
जसोतसो ओत बनाइएको गोठको बास । गाउँ राहतका टिनले टिलिक्कै छ । तर, घरमा कुनै पुरुष नभएकी उनकी वृद्ध सासू र उनले भने गाउँमै उपलब्ध सामग्री जोरजम्मा गरेर बारीमै सानो झुपडी बनाएका छन् । देवीका दुई सन्तान, एक सासू, केही बाख्रा, भैंसी, गोरु, कुकुर र कुखुराको साझा बासस्थल हो त्यो ।
देवीका पति कमाउनका लागि खाडी मुलुकको कुनै देश पुगेका छन् । ‘मलेसिया हो कि दुबई’ उनले खुट्याइनन् । ‘१२ कक्षा पढ्ने छोरो पोहोर बित्यो, जेठो विदेश छ,’ उनकी सासूले थपिन् ।
सीधा पर्ने घामापानी छेकेपनि उनको त्यो घरले अरु केही छेक्दैन । चोरडाँका त झन् रोक्न सक्ने नै भएन । त्यही एउटा कुकुर छ, जसले नटोक पनि भुकेरै उनीहरुको रक्षा गरिरहेको छ ।
दुई नाबालक र दुई महिलाको त्यो घरको संकटको आडभरोसा पनि रहेछ कुकुर । निकै ज्ञानी छ भन्दै थिइन् देवीकी सासू ।
पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लहर चलेको छ । यसका लागि स्वास्थ्य मन्त्रालय र अन्य निकायले ठूलै बजेट खर्च गरेको पनि देखाउँछन् । गहुँ काट्दा हुर्किरहेका यी बालक कोदो रोप्दा जन्मेका रहेछन् । पोहोर साउनतिर उनी घर नजिकै कोदो रोप्दै थिइन्, एक्कासि व्यथा लाग्यो । घर जाने सुर गर्दै थिइन्, बारीमा जन्मियो बच्चा ।
घर पनि के भन्नु ? भूकम्पले भत्काएर टहरो न थियो । त्यतिबेला देवीको श्रीमान् सँगै थिए । उनले जसोतसो सुत्केरी र आफूलाई ओत लाग्ने ठाउँ बनाए । भूकम्प, त्यसपछि खडेरीले गाउँमा गरिखाने मेलै भेटिएन । त्यसपछि उनी हुर्किंदै गरेको सन्तान र सुत्केरीबाट तंग्रिंदै गरेकी श्रीमती छाडेर विदेशतिर हिँडे ।
बारीमा जन्मेर टहरोमा हुर्केका यी बालक भर्खर मात्रै सन्चो भएको देवीले बताइन् । ‘खोकी रहन्थ्यो, ज्वरो आइरहन्थ्यो । निको भएको दुईचार दिन भयो,’ उनले सुनाइन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...