राजधानीमै गाँजाखेती, ७९ जना पक्राउ
काठमाडौं- सरकारले लागुऔषध गाँजालाई प्रतिबन्धित सूचीमा राखे पनि काठमाडौं उपत्यकामै यसको व्यावसायिक खेती हुने गरेको पाइएको छ। प्रहरीले बिहीबार राजधानीको गोकर्णेश्वरमा ११ सय रोपनीमा लगाइएको गाँजाखेती नष्ट गर्नुका साथै १ हजार ३ सय किलो तयारी गाँजा फेला पारेको छ।
यसअघि उपत्यकाका सार्वजनिक स्थानमा उमि्रएका गाँजा नष्ट गर्दै आएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले व्यावसायिक प्रयोजनले लगाइएको गाँजा नष्ट गरेको यो पहिलोपटक हो। ब्युरोले गाँजाको व्यावसायिक खेती हुने ४४ जिल्लालाई सूचीमा राखेर नियन्त्रण प्रयास अघि बढाउँदै आए पनि काठमाडौं उक्त सूचीमा छैन।
उपत्यकाभित्रै व्यावसायिक गाँजाखेती हुने गरेको गोप्य सूचनाका आधारमा गोकर्णेश्वरमा छापा मारिएको ब्युरोका डिआइजी जयबहादुर चन्दले बताए। त्यस क्रममा टोलीले करिब ११ सय रोपनी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरेको उनले जानकारी दिए। लागुऔषध नियन्त्रण ऐनअनुसार २५ भन्दा बढी बोट गाँजाको खेती गरे ३ वर्षसम्म कैद वा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ को चिलाउने र वडा नं २ को ओख्रेनी, मूलखर्कमा मकै, आलुलगायत बालीले घेरेर व्यावसायिक उद्देश्यले गाँजा रोपिएको फेला परेको ब्युरोले जनाएको छ।
'बारीको वरिपरि मकै, आलु रोपेर भित्र गाँजा रोपेको देखियो,' डिआइजी चन्दले भने, 'बारी, करेसामा समेत गरी ११ सय रोपनी जग्गामा गाँजाखेती गरेको भेटियो।'
प्रहरी टोलीले उक्त क्षेत्रका गोठ र बारीको कान्लामा लुकाएर राखेको १ हजार ३ सय किलो तयारी गाँजासमेत फेला पारेको छ। त्यस क्रममा ७९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनायो।
ब्युरो अधिकारीका अनुसार त्यस क्षेत्रमा उत्पादित गाँजा स्थानीय तहमै बिक्री हुने गरेको खुलेको छ। चरेस बनाउन सकिने गुणस्तरको गाँजाखेती हुने भएकाले त्यस क्षेत्रमा पछिल्लो समय भारतीय मूलका नागरिकको सक्रियता बढेको औंल्याउँदै ब्युरोले यसमा संगठित समूहकै संलग्नता हुन सक्ने आशंका गरेको छ।
दुई जिल्ला विशेष, पाँच अति प्रभावित गाँजाखेतीको अनुपात आधारमा ब्युरोले दुई वर्षअगाडि ४४ वटा जिल्ला पहिचान गरी तिनलाई तीन वर्गमा छुट्ट्याएर नियन्त्रण रणनीति बनाएको थियो।
ब्युरोको सूचीअनुसार मकवानपुर र धादिङ गाँजाखेतीमा विशेष प्रभावित जिल्ला हुन्। तयारी गाँजा र चरेससहित पक्राउ पर्ने अधिकांश कारोबारी यी दुई जिल्लाकै बढी छन्।
अति प्रभावित सूचीमा उदयपुर, सुनसरी, सिराहा, पर्सा र बारा जिल्ला छन्। मोरङ, महोत्तरी, कपिलवस्तु, धनुषा, सप्तरी, रौतहट, खोटाङ, बाग्लुङ, बझाङ, बाजुरा, चितवन, रोल्पा, रुकुम, नवलपरासी, सर्लाही, दाङ, बाँके र बर्दियालाई प्रभावित जिल्लाको सूचीमा राखिएको छ।
कञ्चनपुर कास्की, धनकुटा, रुपन्देही, कैलाली, कपिलवस्तु, स्याङ्जा, तनहुँ, झापा, दार्चुला, म्याग्दी, सिन्धुपाल्चोक, डडेल्धुरा, काभ्रे, बर्दिया, सुर्खेत र रसुवा कम प्रभावित जिल्ला हुन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...