-->
बुढेशकाल लागेको लक्षण

बुढो हुँदै गएपछि शरीरमा निकै परिर्वतन आउँछन् । हाम्रो रुप, सोचाई, सोच्न सक्ने शक्ति, शारीरिक क्षमतालगायत सबैमा परिवर्तन आउँछ । हरेक अंगमा यसका बेग्लै कारण हुन्छन् ।

कपाल

 

कपाल फुल्ने, झर्ने र खस्रो हुने हुन्छ । ढिलो चाँडो सबैमा यी परिवर्तन देखा पर्छन् । रौंमा भएको रंग उत्पादन गर्ने जीवकोष मेलानोसाइट कम हुँदै गएपछि कपाल र शरीरका अरु रौं फुल्न थाल्छन् ।
अक्सिजन र अन्य पौष्टिक पदार्थ अपुग हुँदा रौंका जरा कम हुँदैं जान्छन् । पैतृक कारण पनि तालु खुईलिन्छ । उमेर बढ्दै जाँदा शुद्ध र प्रशस्त अक्सिजन भएको रगत छालासम्म पुग्दा केही कम भैसकेको हुन्छ । त्यसैले सानोतिनो घाउ पनि ढिलोसंग निको हुन्छ ।  रौं खस्रो र चाँडै टुक्रिने कारण पनि यसको बनौट फरक परेर हो ।

छाला

छाला विषेश प्रकारको अंग हो । यो अत्यन्त संवेदशील पनि हुन्छ । छालाको बाहिरी र भित्री गरि दुई पत्र हुन्छन् । बाहिरी पत्रमा तह–तह परेका  जीवकोष हुन्छन् । यसको मोटाई पैतालामा र हत्केलामा बाक्लो र अन्य भागमा पातलो हुन्छ । उमेर ढल्कँदैं जाँदा यो पत्रका जीवकोष बढ्न थाल्छन् र मरेका जति पनि थुप्रिन्छन्, जसले गर्दा छाला बाक्लो देखिन थाल्छ । नङ बाक्लो हुने कारण पनि यही हो ।

चाउरी पर्नु

यो छालाको तन्कने र खुम्चिने गुण भएका कोल्याजन भन्ने अवयवमा परिवर्तन भएर देखिने प्रक्रिया हो । समानान्तर रुपले कोल्याजन फाइबर भएमा चाउरी देखिँदैंन । तर यी केस्रामा हाँगाहरु पर्न थाल्छन र यसले गर्दा छाला फुकेर आफ्नै ठाउँमा पूर्व रुपमै आउन पाउँदैंन । कालान्तरमा त्यहाँ चाउरी देखिन थाल्छ । छालामा हुने दुई प्रकारका पसिना ग्रन्थीले निकाल्ने श्रव पदार्थले छालालाई नरम र चिल्लो राख्छन् । यिनको कमीले छाला खस्रो हुन्छ र चिलाउने हुन थाल्छ । यस्तै, राता तथा काला थोप्ला देखिने, रगतका नसा देखिन थाल्ने पनि हुन्छ ।

आँखा

बुढेशकाल आँसुको उत्पादन कम हुन सक्छ । जसले गर्दा आँखा बिझाएको जस्तो अनुभूति हुन्छ । कसै–कसैलाई धेरै वृद्धावस्थामा आँखाको माथिल्लो डिल माथि उठाउन गा¥हो पर्छ र आँखा चिम्लिएको  जस्तो देखिन्छ । विशेष प्रकारका मांसपेशी कम हुँदैं र खिइँदैं जानाले पनि यस्तो भएको हो । तल्लो डिलमा यस्तो भएमा आँखा लोतिएको जस्तो र आँशु चुहिन थाल्छ ।

दाँत

बुढेशकालका कारण होइन, दाँत गिजाको रोगले झर्छ । दाँतको इनामेल कम हुन सक्छ र धेरै तिखो पनि हुँदा चपाउँदा कहिलकाहीँ जिब्रो र गाला टोकिने हुन सक्छ ।

कान

शरीर विज्ञानअनुसार हाम्रो तीन जोर कान हुन्छन् । हरेकपट्टि बाहिरी, मध्य र भित्री गरी तीन वटा कान हुन्छन् । बुढेशकालमा यी तीनै कानमा समस्या देखा पर्न सक्छन् ।

पेट

बुढेसकालमा पेटभित्रका श्रावगन्थ्री कम हुन्छन् । यसले गर्दा कसैलाई पेट पोलेको अनुभव पनि हुन्छ । खाना खाएको तीन घण्टामा पेट रित्तिनु पर्नेमा त्यसो हुँदैन । भोक कम लाग्छ । कसैलाई यस्तो समस्या बढी हुन्छ  । डकार आउने, मुखबाट दुर्गन्ध आउने हुन्छ । यस्तो समस्यालाई ग्याष्ट्रोटाइटिस भनिन्छ ।

फोक्सो

फोक्सोले श्वास फेर्न सक्ने क्षमता तथा कार्बनडाइअक्साइड फालेर अक्सिजन लिन सक्ने क्षमता घट्छ । कफ कम र बाक्लो हुन्छ । त्यसैले न्यूमोनिया र अन्य रोग लाग्ने सम्भावना हुन्छ ।
यस्तै, मुटुको कार्यक्षमता घट्ने, मष्तिष्कको वजन केही घट्ने, शारीरिक सन्तुलन बिग्रने, दुइवटै मिर्गौलाको क्षमता कम हुँदैं जाने, प्रोष्टेट ग्रन्थी बढ्ने, पैतालाको स्नायु कमजोर हुने, तिर्खा कम लाग्नेज्स्ता समस्या बुढेशकालमा देखिन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.