कफीहाउस लाइनमा भीषण आगलागी
वैशाख २५
ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाममा शनिबार दिउँसो आगलागी हुँदा दुई घर जलेको छ । सदरमुकाम फुङ्लिङको कफीहाउस लाइनमा दिउँसो २ः३० बजेतिर भएको आगलागीले स्थानीय नेत्रप्रसाद बराल र पदमप्रसाद पौडेलको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामबहादुर केसीका अनुसार बरालको घरबाट सुरु भएको आगोले नजिकै रहेको पौडेलको घरसमेत जलेर नष्ट भएको हो । आगलागी भएको खबर पाउनासाथ बारुणयन्त्र दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी जुटेर करिव दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रनाउ केसीले बताए ।
साँघुरो सडकका कारण दमकल घटना स्थलसम्म पु¥याउन नसक्दा र पानीको स्रोत समेत नभएका कारण आगो नियन्त्रणमा लिनलाई निक्कै समस्या भएको थियो । तर घटनास्थलभन्दा केही टाढैबाट दमकलमा पाइप जोडी आगलागी नियन्त्रणमा लिन सफल भएका कारण अन्यत्र आगो फैलन नपाएको प्रनाउ केसीले बताए । प्रहरीका अनुसार आगो बरालको घरबाट सुरु भएको र आगलागीको कारण भने खुलिनसकेको जनाइएको छ ।
प्रहरीका अनुसार आगलागीले बरालको घरभित्र भएको सम्पूर्ण सामग्री जलेर नष्ट भएको र पौडेलको घरबाट भने केही सामग्री निकालिएको छ । उक्त आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रनाउ केसीले जानकारी दिए ।
- रातोपाटीबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...