प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रहरी प्रधान कार्यालय निरीक्षण
वैशाख २५
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्नुको साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।
उक्त अवसरमा उनले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक साइन्स ल्याव र पोलीग्राफ शाखाको साथै अन्य महत्वपूर्ण शाखाहरुको निरीक्षण गरेका हुन् ।
निरीक्षण पश्चात प्रहरी प्रधान कार्यालयस्थित प्रहरी परिचालन कक्षमा प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले जटिल र अप्ठेरो परिस्थितिमा पनि नेपाल प्रहरी राज्यका चुनौतीको सामना गर्दै अगाडि बढेको चर्चा गर्दै संक्रमणकालमा समेत असाधारण तरीकाले काम गरेकोले नेपाल प्रहरीलाई धन्यबाद दिए ।
अपराधमुक्त समाज र राष्ट्र निर्माणका लागि नेपाल प्रहरी मात्र सक्षम भएर नहुने प्रसङग उठाउँदै प्रधानमन्त्री ओलीले यसका लागि समाज समेत रुपान्तरित हुनुपर्ने उल्लेख गरे । सामाजिक सदभाव, राष्ट्रिय एकता र सहिष्णुता कायम गर्न सुरक्षा निकायको मात्र नभई आमनागरिकको समेत दायित्व रहेकोले सुरक्षा निकाय यसप्रति अझै संवेदनशील हुनुपर्ने उनले बताए । उनले संगठित अपराधलाई नियन्त्रण गर्न जनतासँग हातेमालो गर्दै अगाडि बढ्न निर्देशन समेत दिए ।
नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न गराएमा मात्र शान्ति सुरक्षाको स्थिति थप सुदृढ, अपराध नियन्त्रण र घटित अपराधको सफल अनुसन्धानमा तदारुकता आउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस बिषयमा नेपाल सरकारको नीति तथा कार्यक्रम मार्फत आवश्यक सम्बोधन गरिने जानकारी दिए ।
उक्त अवसरमा माननीय गृहमन्त्री शक्तिबहादुर बस्नेतले वर्तमान चुनौतीको सामना गर्न नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने, दक्ष जनशक्ति बिस्तार गर्नुपर्ने, तालिमलाई समयसापेक्ष बनाउनुपर्ने, साधनस्रोत सम्पन्न बनाउनुपर्ने र संगठनको एकतालाई अझै मजबुद गराउनुपर्ने बताए ।
“समृद्ध नेपालको लागि सुरक्षित समाज” आवश्यक रहेको चर्चा गर्दै माननीय गृहमन्त्री बस्नेतले संगठनको तल्लो एकाईदेखि नै इमानदारिता पुर्वक सजग र सतर्क रही दायित्व निर्वाह गर्दै जिम्मेवारी पुरा गर्नुपर्ने बताए । बिकास र सुरक्षा एकअर्काका परिपुरक भएकोले दुबैलाई समायोजन गर्दै लैजानेतर्फ नागरिकमैत्री प्रहरी सेवाकासाथ आमनागरिकसँग एकतावद्ध भई काम गर्न उहाँले आग्रह समेत गरे ।
समारोहमा धन्यबाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले स्नेहभावकासाथ प्राप्त अमुल्य निर्देशनको अक्षरस पालना गर्ने प्रतिवद्धता व्यक्त गरे । निर्देशन सम्बोधनले कर्तव्यपथमा निर्भिक भई अगाडि बढ्न थप उर्जा र उत्साह मिलेको चर्चा गर्दै उनले संगठन सुदृढिकरण तथा आधुनिकीकरण, भौतिक स्रोतसाधनको व्यवस्था र सेवा सुबिधाका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमले विशेष सम्बोधन गर्नुपर्ने कुरामा जोड दिए ।
उक्त अवसरमा प्रधानमन्त्री समक्ष संगठनले सम्पादन गरेका कामकारबाही, उपलब्धी, समस्या र संघीयतामा नेपाल प्रहरीको स्वरुप सम्बन्धमा समेत प्रहरी महानिरीक्षक अर्यालले प्रस्तुतीकरण गरेका थिए ।
समारोहमा गृह सचिव नारायणगोपाल मलेगो, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, बरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत एवं जवानहरुको समेत उपस्थिति रहेको थियो ।
-रातोपाटीबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...