प्रधानमन्त्रीलाई माधव नेपालको व्यंग्य सगरमाथामा केबुलकार जोडौं
काठमाडौं–नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुहाउँदा र सक्ने सपना मात्रै देख्न आग्रह गरेका छन्। नपत्याउँदा सपना बाँडेर माजाकको पात्र नबन्न उनले आफ्नै दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सुझाएका छन्।
मंगलबार मदन भण्डारी अध्ययन केन्द्रले राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले निकैबेर 'प्रधानमन्त्रीका सपना' बारे चर्चा गरे।
'सगरमाथामा केबुलकार जोड्न सके लाख हैन, करोड पर्यटक भित्रन्छन्, अब सगरमाथामै केबुलकार हाल्छु भन्न मिल्छ?' उनले व्यंग्य गरे 'देशका सबै हीमश्रृङ्खलामा केबुलकार जडान गर्छु भन्न त सकिएला तर काम गर्न त सकिँदैन।'
नेता नेपालले प्रधानमन्त्रीप्रति अर्को व्यंग्यात्मक प्रश्न तेर्स्याए 'ताप्लेजुङबाट दार्चुलासम्म केबुलकार जोड्ने पो हो की?'
सिन्धुलीमा एकजना व्यक्तिको जग्गा अधिग्रहण गर्न नसक्दा बर्षौदेखि बिद्युत सव स्टेशन निर्माण हुन नसकेको उदाहरण दिँदै नेता नेपालले सरकारी काम-कारवाहीप्रति असन्तोष पोखे। 'एकजना व्यक्तिले जग्गा कब्जा गरेर मनलाग्दो मुअब्जा माग्दै राज्यलाई चुनौती दिएको छ, यस्ता थुप्रै समस्याले विद्युतीकरणका काम रोकिएका छन्,' उनले हाँस्दै प्रधानमन्त्रीप्रति व्यंग्य सोझ्याए 'पहिले यस्ता समस्या समाधान गर्ने कि, फिटिक्क पारेर ग्यास घरघरमा पुर्याउने?'


0 comments
प्रतिक्रिया दिनुहोस्...