-->
भूकम्पले घर भत्कदा पुरीएको नागरिकता र लालपूर्जा बनाउन घुम्ती शिविर

भूकम्पले घर भत्केपछि नागरिकता, लालपूर्जालगायत महत्वपूर्ण काजगात पुरिएकाले सेवाग्राहीको सुविधालाई ध्यान दिँदै गोरखाको तीन ओटा निर्वाचन क्षेत्रमा घुम्ती शिविर संचालन गरिने भएको छ । आउँदो जेठ १४ गते सिम्जुङ्ग गाबिसको बालुवा बजारमा, १७ गते थुमी गाबिसको आर्खेतमा र २१ गते घैरुङ्ग गाबिसको बतासेमा घुम्ती शिविर आयोजना गर्ने निर्णय भएको स्थानीय बिकास अधिकारी नारायण आचार्यले बताए ।
‘नागरिकता र लालपूर्जा नहुँदा भूकम्पपीडित लाभग्राहीले अनुदान रकम पाएनन्’ उनले भने, ‘भूकम्पपीडित जनताको घर, दैलोमा सरकारी सेवा उपलब्ध गराउन लागेका हौं ।’ घुम्ती शिविर संचालनका लागि सरकारले एक लाख ५० हजार रुपैंया बजेट पठाएको उनको भनाइ छ । शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला पशु बिकास कार्यालय, जिल्ला कृषि बिकास कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालयलगायतका कार्यालयका कर्मचारी उपस्थित भई सेवाग्राहीको काम गर्ने आचार्यले बताए ।
तीन ओटै ठाउँमा दुई दिनका दरले घुम्ती शिविर संचालन हुन्छ । भूकम्पले घर भत्केपछि महत्वपूर्ण कागजात पनि पुरिएको थियो । राहत एवं पुनःनिर्माणको काममा नागरिकता र लालपूर्जा अनिवार्य भएपछि सेवाग्राहीलाई गाउँमै पुगेर सेवा दिन लागिएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बताए । गाउँ–गाउँका भूकम्पपीडितले नागरिकता, लालपूर्जा नहुँदा समस्या अनेक खालका समस्या खेप्नुपरेको ब्यापक गुनासो गरेपछि घुम्ती शिविर गर्न लागिएको हो ।
०७२ बैशाख १२ र २९ गते आएको भूकम्पले जिल्लाको करीब ७० हजार ओटा घर भत्केको थियो । कच्ची घरहरु पूर्ण रुपमा भत्केका थिए । सुरक्षित राखिएको कागजात र पैसा घर भत्केर पुरिँदापीडित समस्यामा छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.