कालीगण्डकी नदीमा पक्की पुल निर्माण सुरु
रामपुर । कालीगण्डकी नदीको गौरीघाटमा हालै पक्की पुल निर्माण कार्य सुरु भएको छ । रामपुर नगरपालिका–९ र स्याङ्जा साँखर गाविस–९ जोड्ने गौरीघाटमा नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा पक्की पुल निर्माण सुरु गरिएको हो ।
जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एन्ड थोकर निर्माण कम्पनीले २०७४ चैत मसान्तसम्म निर्माण सक्ने सम्झौता गरेर काम सुरु गरेको इन्जिनियर पवित्रमणि आचार्यले बताउनुभयो । नवनिर्मित पुलको १७४ मिटर लम्बाइ र ६ मिटर चौडाइ रहने आचार्यले बताउनुभयो ।
पुल निर्माण भएपछि रामपुर, स्याङ्जाको साँखर, सेखाम, चापाकोटलगायतका झन्डै ५० हजार जनता लाभान्वित हुने पुल निर्माण समितिका उपाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।
विद्यालयलाई फिल्टर वितरण
यसैबीच, पाल्पा जिल्लाको दुर्गममा पर्ने अर्चले गाविसका चार विद्यालयलाई फिल्टर वितरण गरिएको छ । युनाइटेड मिसन अस्पताल, समुदाय स्वास्थ्य विभाग, पाल्पाद्वारा अर्चलेका चार विद्यालयलाई आठवटा फिल्टर वितरण गरिएको छ ।
यहाँका गोरखनाथ माविलाई चारवटा, सिन्दूर निमाविलाई दुई वटा, अकला प्रावि र कमला प्राविलाई एकएक वटा फिल्टर वितरण गरिएको शिक्षक होमराज मगरले बताउनुभयो ।
सो फिल्टर वितरण गर्दै युनाइटेड मिसन अस्पताल समुदाय स्वास्थ्य विभागका संयोजक पार्वती गौतमले शुद्ध र स्वच्छ पानी मात्र पिउन विद्यार्थी र शिक्षकलाई अनुरोध गर्नुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...