-->
मालवाहक चिनियाँ रेल नेपालतर्फ


बैशाख ३१
काठमाडौं: चीनले अन्तर्राष्ट्रिय मालवाहक रेल नेपालतर्फ बिहीबार पठाएको छ । चीनको उत्तरपश्चिम गान्सु प्रान्तस्थित लान्झाउबाट उक्त रेल नेपालका लागि प्रस्थान गरेको चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीको अनलाइन संस्करणमा उल्लेख छ ।
उक्त मालवाहक रेल चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म आउनेछ भने त्यसपछि रेलमा रहेका सामान सडक यातायातबाट दस दिनभित्र काठमाडौं ल्याइने समाचारमा जनाइएको छ । नेपाल–सीमा केरुङसम्म ती सामान ल्याइपुर्याउन रेल र यातायातबाट गरी तीन खण्ड पार गर्नुपर्नेछ । ती सामान लान्झाउबाट सिगात्से २४३१ किमि रेलबाट, सिगोत्सेबाट केरुङ (चीनतर्फ जिलोङ भनिने) ५६४ किलोमिटर र केरुङबाट काठमाडौं १६० किलोमिटर सडक यातायातबाट ढुवानी हुने समाचारमा उल्लेख छ ।
यसरी नेपालतर्फ रेल र सडकबाट गरी सामान ढुवानी गर्दा समुद्री मार्गबाट भन्दा ३५ दिन कममा नेपाल आउन सक्ने समाचारमा जनाइएको छ । उक्त चिनियाँ मालवाहक रेलमा रहने ४३ वटा डिब्बा र ८६ वटा कार्गो कन्टेनरले दैनिक उपभोग्य सामान, घरायसी उपकरण ल्याउने चिनियाँ रेल कन्टेनर कर्पोरेसनका डेपुटी जनरलले बताएका छन् ।
‘यस खालको रेलसेवा सञ्चालन भएबाट चीनका गान्सु, छिङ्हाई प्रान्त, तिब्बत स्वायत्त क्षेत्र र दक्षिणएसिया क्षेत्रको उद्योगको विकासमा भइरहेको द्रुततर विकासमा अझै प्रवद्र्धन गर्न सहयोग मिल्नेछ', पिपुल्स डेलीको समाचारमा भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले चिनियाँ उच्च गतिको रेललाई काठमाडौं, पोखरा र लुम्बिनी सम्म विस्तार गर्न औपचारिक आग्रह गरेको थियो । त्यसमा चीनले सकारात्मक जवाफ दिएको थियो । चीनको छिङ्हाई—तिब्बत रेल सन् २०२० भित्र नेपाल चीन सीमा क्षेत्र केरुङ् ल्याउने चीनले गत बर्ष घोषणा गरेको थियो ।
नेपाल र चीनबीच प्रधानमन्त्रीकै भ्रमणका क्रममा पारवहन यातायात सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालले भारत हुँदै समुद्री मार्गबाट हालसम्म तेस्रो देशसँग व्यापार गर्दै आएको छ । तर यस सम्झौताले नेपालले अब चीनका समुद्री बन्दरगाहबाट पनि तेस्रो मुलुकसँग व्यापार गर्न नयाँ विकल्प पाएको छ । यसकारण प्रधानमन्त्री ओलीको चीन भ्रमणमा हस्ताक्षरित पारवहन सम्झौतालाई ऐतिहासिक र दूरगामी महत्त्वका रूपमा मानिएको छ ।
स्रोत : अन्नपूर्ण पोस्ट्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.