काठमाडौँ, जेठ १० गते । कानुनको कार्यान्वयन नभएसम्म बालबालिकामाथि हुने गरेका कुनै पनि व्यावसायिक हिंसाको न्यूनीकरण हुन नसक्ने सांसदहरुले बताउनुभएको छ ।
केन्द्रीय बाल कल्याण समितिले आज यहाँ आयोजना गरेको बालबालिकामाथि हुने गरेका व्यावसायिक यौन शोषणविरुद्ध जनचेतनामूलक अभियान कार्यशालामा सांसद डा वंशिधर मिश्रले बालबालिकाको हक र अधिकारका लागि प्रशस्त कानुन निर्माण भइसकेको भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा हिंसाजन्य घटनामा कमी आउन नसकेको बताउनुभयो ।
त्यसैगरी सांसद रामहरि सुवेदी, लक्ष्मण राजवंशी र धनीराम पौडेलले बालबालिकामथि हुने गरेको हिंसाको प्रकृति र बालबालिकाको मनोभावना बुझी आवश्यक परामर्शसँगै कानुनी रुपले पीडितलाई संरक्षण र पीडकलाई कारबाहीको प्रक्रिया अघि नबढाएसम्म हिंसा न्यूनीकरण हुन नसक्ने बताउनुभएको हो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले कानुन निर्माण गर्ने जिम्मा सरकारको भए पनि कार्यान्वयन गर्नु सबैको कर्तव्य रहेकाले हिंसा न्यूनीकरणका लागि कानुनको पालना गर्नु नै सबैभन्दा बलियो आधार हुने बताउनुभयो ।
बालबालिका आफ्नो आवश्यकता पूरा गर्नका लागि पनि विभिन्न किसिमको हिंसामा पर्ने गरेकाले सबैभन्दा पहिले उनीहरुको आधारभूत आवश्यकता पूरा गर्नतिर सबैले ध्यान नदिनुपर्ने केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिनुभयो ।
काठमाडौँका महिला विकास अधिकारी अनिता अधिकारीका अनुसार पछिल्लो समय आमाहरु वैदेशिक रोजगारीमा जाने क्रम बढेकाले पनि बालबालिकामाथि हुने हिंसा बढेको हुनसक्ने भन्दै त्यसका लागि सरकारले आमाहरुलाई स्वदेशमा नै सीपमूलक कामको अवसर सिर्जना गराउनुपर्नेमा जोड दिनुभयो ।
सहभागीले पछिल्लो समय डान्सबारमा काम गर्न राखेका अधिकांश बालबालिका यौन शोषणमा पर्ने गरेको भन्दै उक्त समस्याको समाधानका लागि सरकारले अनुगमन गरी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए । रासस

0 comments
प्रतिक्रिया दिनुहोस्...