-->
पूर्व राष्ट्रपतिलाई दुई, प्रचण्डलाई सबैभन्दा धेरै सुरक्षाकर्मी किन ?

काठमाडौं, १२ जेठ । सरकारले राष्ट्रप्रमुख, प्रधानमन्त्रीलगायत पूर्वपदाधिकारीलाई योजना र आवश्यकता पहिचानै नगरी मनलागी सुरक्षाकर्मी बाँडिरहेको छ ।

कानुन अभावमा एउटै पूर्वप्रधानमन्त्रीले ६४ जनासम्म सुरक्षाकर्मी लिइरहेको पाइएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले गरेको अध्ययनले पूर्वपदाधिकारीको सुरक्षामै राज्यको ठूलो जनशक्ति खर्च भइरहेको देखाएको हो ।

पूर्व पदाधिकारीले असुरक्षाको कारण देखाउँदै मनपरी सुरक्षाकर्मी लिइरहेको प्रतिवेदनले औंल्याएको छ ।

पूर्वपदाधिकारीलाई कति सुरक्षाकर्मी दिने भन्नेबारे अहिलेसम्म कानुन बनाइएको छैन ।

मन्त्रिपरिषद निर्णय, मन्त्रालयगत निर्णय र परम्पराका आधारमा राज्यले व्यक्ति हेरेर सेवासुविधा, सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ ।

सबैभन्दा धेरै सुरक्षाकर्मी लिनेमा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलो नम्बरमा छन् ।

उनीसँग २३ प्रहरी र ४१ सशस्त्र प्रहरी गरी ६४ सुरक्षाकर्मी छन् । धेरे सुरक्षाकर्मी लिनेको दोस्रो नम्बरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई छन् ।

उनले २२ प्रहरी र १३ सशस्त्र गरी ३४ जना सुरक्षाकर्मी राखेका छन् ।

पूर्व सरकार प्रमुखमध्ये मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सबैभन्दा कम सुरक्षाकर्मी लिनेमा पर्छन् । उनीसँग दुई प्रहरी र ८ सशस्त्र गरी १० सुरक्षाकर्मी छन् ।

पूर्वराष्ट्रपति रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झाले भने दुई–दुई जना प्रहरीमात्र राखेका छन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.